योगेशका नियुक्ति एकपछि अर्को प्रश्नको घेरामा, व्यापारिक साझेदार पौडेललाई लगे निगममा
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
922
Shares
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्ना व्यापारिक साझेदार ईश्वरी पौडेललाई नेपाल वायुसेवा निगमको बोर्ड सदस्य नियुक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री भट्टराईको आडमा पटक पटक फाइदा लिनेमा पर्ने पौडेल योगेशकै सिफारिसमा यसअघि नागरिक उड्डयन प्राधिकरणको संचालक समिति सदस्य पनि भएका थिए ।
अहिले पुनः नेपाल वायुसेवा निगमको संचालक नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयले उनी निगमको बोर्ड सदस्य नियुक्त भएका हुन् । निगमका चिनियाँ जहाज बिक्री गर्ने चर्चासँगै पौडेल बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
जग्गादेखि हाइड्रोपावर सम्ममा मन्त्री भट्टराईसँग व्यापारिक साझेदारी रहेका पौडेल ताप्लेजुङकै हुन् । मन्त्री भट्टराईले पौडेलका बहिनीज्वाइँ प्रेम गुरागाईलाई स्वकीय सचिव बनाएका छन् ।
स्वकीय सचिव भएपछि गुरागाईले श्रीमती भूमिका पौडेललाई पर्यटन बोर्डमा जागिर खुवाएको बिषय हाम्राकुराले नै बाहिर ल्याएको थियो । गुरागाईकी श्रीमतीलाई अहिले पनि काम नगरी बोर्डका अध्यक्ष धनञ्जय रेग्मीले तलव बैंक खातामा हालिदिने गरेको बोर्डका कर्मचारीहरु बताउँछन् ।
पौडेल फेक रेस्क्यु गरी विदेशी पर्यटकबाट फाइदा उठाउनेमध्येका एक हु्न् । मन्त्री भट्टराईले तिनै फेक रेस्क्युका आरोपित पौडेललाई ग्लोबल रेस्क्यु भनेर नेपालको सबै जिम्मा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका छन् । पौडेल संलग्न हिमालयन गाइडलाई नेपालका हिमालहरुमा हाई अल्टिच्युडका कारण बिरामी हुने पर्यटक उद्दार (रेस्क्यू) को जिम्मा दिन मन्त्री भट्टराई लागेका छन् ।
पौडेल पहिला यति एयरका संचालकले पनि रुचाएका पात्र हुन् । यतिका संचालक स्व. आङछिरिङ शेर्पा परिवारले लाइसेन्स हडपेको पाथीभरा केवलकारमा समेत पौडेलको सेयर छ । पौडेलको लगानी रहेको एक हाइड्रोपावरमा पनि मन्त्री भट्टराईलाई साझेदार राखेका छन् ।
मन्त्री भट्टराईले नियुक्ति गरेका पात्रहरु प्रायः सबै विवादमा परेकामात्र छन् । हयात होटलको प्रभावमा परी तारागाउँ विकास समितिको अध्यक्षमा नेपाल प्रहरीका पूर्व भगौडा असई प्रल्हादप्रसाद न्यौपानेलाई नियुक्त गरेका उनले पर्यटन बोर्डमा पनि नेकपा विरोधी धनन्जय रेग्मीलाई अध्यक्ष बनाएको नेकपा वृत्तमा अहिले पनि चर्चा सेलाएको छैन ।
भट्टराईले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा रिटायर्ड सुशील घिमिरेलाई नियुक्ति गरेको केही महिनामै पुनः डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाएका छन् ।
पौडेल यसअघि ब्यापारी आनन्दराज बतासको आइसर गाडीको आधिकारिक बिक्रेता इष्टर्न एजेन्सी प्रालिका सीईओ थिए ।
पशुपतिमा आउने भक्तजनका लागि भारत सरकारले बनाइदिएको धर्मशालामा होटल संचालन गर्न बतासलाई मिलाउने बिचौलियाको कामसमेत पौडेलले नै गरेका थिए ।