गणेशमान सिंहको जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
571
Shares
ललितपुर। विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ ।
ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको घोषणा गरेको हो । कोष स्थापनाको शुभारम्भ गर्दै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको नेता समेत रहेका सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहेकोले अस्पतालमा यो सेवा शुरु गर्दा सर्वोच्च नेताप्रति सच्चा श्रद्धासुमन हुने बताए ।
हस्पिटलका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले छोराछोरी विदेश वा स्वदेशमै रहेपनि बाबुआमाभन्दा टाढा रहनेका लागि निःशुल्क उपचार कोषले सहयोग गर्ने बताए । ज्येष्ठ नागरिकका लागि अस्पतालले छिट्टै आयुर्वेद स्वास्थ्य सेवासमेत उपलब्ध गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।