लमजुङ । लमजुङ्ग चिति सेवा समाजले चिति गाविस–३ की मृगौला पीडित १६ वर्षीया सरीता परियारलाई नगदसहित सहयोग गरेको छ । विगत तीन वर्षदेखि मृगौलाको समस्या खेपिरहेकी परियारलाई समाजले २८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो ।
आफ्नै आमाको सहयोगले मृगौला प्रत्यारोपण भएकी परियारले सोही रोगकै कारण गत वर्ष एसएलसी परीक्षामा सहभागीता जनाउन पाएकी थिइनन् । चिति समाजका अध्यक्ष बच्चु पाण्डेले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पीडित परियारलाई नगद हस्तान्तरण गरे ।
सरकारले हालैमात्र मृगौला पीडितलाई निःशुल्क डायलाशिस व्यवस्था गर्ने जनाए पनि प्रत्यारोपण र अन्य उपचारबारे भने मौन रहेको छ ।