काठमाडौं । नेपाली महिला र बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो २०१५ घोषित भएकी छन् । अमेरिकाको न्यूजर्सीमा जन्मिएकी उनी १० वर्ष अघि नेपाल घुम्न आउँदा सशस्त्र द्वन्द्वबाट प्रभावित महिला र बालबालिका देखेपछि उनले नेपालमै बसेर काम गर्ने निर्णय लिएकी थिईन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको थियो ।
उत्कृष्ठ १० मा परेकी उनले नौ प्रतिष्पर्धीलाई पछि पार्दै एक लाख अमेरिकी डलर पुरस्कारसहित थप १० हजार डलर पाईन् । सिएनएन हिरोको उत्कृष्ठ १० मा पर्ने प्रत्येकले १० हजार डलर अतिरिक्त रकम पाउने प्रावधान छ । यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत पनि सिएनएन हिरो भईसकेका छन् ।
नेपाल आउँदा उनले ५ हजार डलर रुपैंयाँ ल्याएकी थिईन् । त्यही रकमले उनले जमिन किनेर विद्यालय, महिला केन्द्र र कोपिला भ्याली चिल्ड्रेन होम निर्माण गरेकी थिईन् । उनले मध्यपश्चिमका टुहुरा तथा सडक बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएकी छिन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् ।
उनले २०१० मा ब्लिनो फाउण्डसेन स्थापना गरिन्, जसले कोपिला भ्याली स्कुल खोलेको छ । अहिले उक्त स्कुलमा ३ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत छन् । उनले पुरस्कार लिएपछि नेपाललाई छोरीको रुपमा स्वीकार गरेकामा धन्यवाद दिएकी छिन् ।