काठमाडौं । प्रमुख तीन दलका नेताहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंगको आजको बैठक निर्णायक हुने बताएपनि यही बैठकबाट निर्णयक हुने संभावना भने कम छ । सहमतिका लागि प्रमुख दलहरुको तर्फबाट औपचारिक रुपमा प्रस्ताव पेश हुनै बाँकी रहेको र उक्त प्रस्तावमाथि मधेशी मोर्चा सहमत हुन्छ भन्ने निश्चित भइनकसेकाले आजको बैठक निर्णायक हुने संभावना न्यून देखिएको हो ।
साथै मधेशी मोर्चाका नेताहरु नै आजको बैठक निर्णायक हुनेमा विश्वस्त देखिदैनन् । यसअघि, पनि पटक–पटक निर्णायक भन्दै अनिर्णित अवस्थामै बैठक सकिने गरेकाले समेत आजको बैठक निर्णायक नै होला भनेर पत्याउन सकिने अवस्था नरहेको अधिकांश नेताहरुको भनाई छ ।
तर, प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने आजको बैठक निर्णायक हुने जिकिर गर्दै आइरहेका छन् । मोर्चासंगको वार्ताका लागि सत्तारुढ दलहरुले मात्रै गरेको वार्ता भन्दा व्यवस्थापिका संसदको सबै भन्दा ठुलो र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितको बैठक भएकाले केही सकारात्मक संकेत भने आउन सक्ने देखिन्छ ।
सत्तारुढ दलहरुको तर्फबाट आज आउने औपचारिक प्रस्तावमा मधेशी मोर्चाका नेताले मोर्चा भित्र छुट्टै छलफल गरेपछि मात्रै निर्णयमा पुग्ने भएकाले प्रमुख दलहरु र मधेशी मोर्चाबीचको बार्ता निर्णायक हुन अझै केही दिन कुर्नु पर्ने देखिन्छ ।
मोर्चासंगको छलफल अघि प्रमुख तिन दलकैबीचमा छलफल गरेर समान धारणा बनाउनु पर्नेछ । अहिले सम्म प्रमुख दलहरुकैबीचमा मधेशका माग सम्बोधनका सम्बन्धमा समान धारणा बन्न सकेको छैन । मोर्चासंगको छलफल अघि प्रमुख तनि दलकाबीचमा हुने छलफलमा समान धारणा बन्न नसकेमा मोर्चासंगको बार्ता निर्णायक बन्न थप केहीदिन लाग्ने छ ।
मधेशी मोर्चासँग आज हुने वार्तामा संघीयताको सीमांकन हेरफेर, संविधान संशोधन लगायतका विषयमा लचकता अपनाई यसै बैठकलाई निर्णायक बनाउने प्रमुख तीन दलको तयारी छ । तीन दल र मधेसी मोर्चाबीच अपरान्ह चार बजे वार्ता गर्ने तय भएको छ ।