फ्रान्सको राजधानी पेरिसमा भिषण आक्रमण, कम्तिमा १२० को मृत्यु, राष्ट्रपति ओलाण्ड भएको स्टेडियममा समेत विष्फोट
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1.9k
Shares
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा अन्धाधुन्ध गोली प्रहार र बम विष्फोटमा परी कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ । विश्व युद्ध पछिको यो सबै भन्दा ठूलो आक्रमण भएको बताइएको छ ।
बटाक्लान कन्सर्ट हलमा मात्र कम्तिमा सय जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पाँच आक्रमणकारी समेत मारिएका छन् । अधिकारीहरुका अनुसार कन्दुकधारीले कयौं व्यक्तिलाई बन्धक बनाएका थिए । प्रहरीले बल प्रयोग गरेर ती बन्धकलाई मुक्त गराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
बटाक्लान आर्ट सेन्टरनजिक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सरकारले पेरिसका स्थानीयलाई घर बाहिर ननिस्कन भनेको छ । त्यहाँ कम्तिमा पनि एक हजार ५ सय सेना परिचालन गरिएको बताइएको छ ।
जर्मनी र फ्रान्सको मैत्रिपूर्ण फुटबल भएको नेशनल स्टेडियमको बाहिर कम्तिमा दुई बिस्फोट भएको छ । स्टेडियममा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।
बिस्फोट भएका बेला खेल चलिरहेको थियो । फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओल्याण्ड समेत सो समयमा रंगशालामै खेल हेरिरहेको र उनलाई बिष्फोट लगतै सुरक्षित बाहिर निकालिएको थियो ।
त्यहाँको स्थानीय समय अनुसार राति करिब ९ बजे हमला भएको थियो । आक्रमणमा ६ जना भन्दा बढी आत्मघाती आक्रमणकारी संलग्न रहेको बताइए पनि हाल सम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । यद्यपि, इस्लामिक स्टेट आइएस समर्थक सामाजिक संजालमा हमलाको प्रसंसा गरिरहेको बताइएको छ ।
राष्ट्रिय संकटको घोषणा
राष्ट्रपति फ्रास्वाँ ओलाण्डले मुलुकमा आपतकालिन स्थितिको घोषणा गरेका छन् । उनले सीमा बन्द गर्न समेत आदेश दिएका छन् । राष्ट्रपतिको निर्देशनपछि सीमा पूर्ण बन्द गरिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।
घटनाको अन्तर्रा्ष्ट्रिय समुदायले निन्दा गर्दै फ्रान्सलाई जुन कुनै प्रकारको सहयोग गर्न तयार रहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमणलाई कायरतापूर्ण भन्दै निन्दा गरेका छन् । ओबामाले यो आक्रमण मानवतामाथिको आक्रमण भएको र अमेरिका फ्रान्सको साथमा रहेको बताए ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले समेत पेरिस घटनाबाट आफू स्तब्ध भएको भन्दै बेलायत फ्रान्सलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।