‘प्रधानन्यायाधीश दवाव र प्रभावबाट मुक्त भए न्यायपालिका स्वतन्त्र हुन्छ’
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
882
Shares
काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश दवाव र प्रभावबाट मुक्त भए न्यायपालिका स्वतन्त्र हुने बताएका छन् ।
कानून दिवसको सन्दर्भमा बोल्दै उनले प्रधानन्यायाधीशले नै न्यायपालिकालाई पारदर्शी र हस्तक्षेपविहीन बनाउन सक्ने बताए ।
कार्यपालिका र व्यवस्थापिकाबाट न्यायपालिकालाई स्वतन्त्र राख्नका लागि प्रधान न्यायालय राखिएको भए पनि त्यसलाई पालना गर्न नेतृत्वलाई नै नसकेको उनको गुनासो छ ।
उनले न्यायपालिकाको कर्तव्यपरायणताको अभावका कारण नै हस्तक्षेप भएको भन्दै प्रधानन्यायाधीशले हस्तक्षेप हुन दिन्न भन्ने हो र त्यसै अनुसार व्यवहारमा लाग्ने हो भने न्यायपालिका स्वतन्त्र हुने ठोकुवा गरे ।
उनले स्पष्ट पारे, ‘न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद बार्गेनिङ टुल भएको छ । कार्यपालिका र व्यवस्थापिकासंग बसेर मेरा यति मान्छे र तेरा यति मान्छे भनेर प्रधानन्यायाधीश नबस्ने हो भने न्यायपालिका स्वतन्त्र हुन्छ ।’
भट्टराईले न्यायाधीश र प्रधानन्यायाधीश काम गर्न स्वतन्त्र रहेको तर बार्गेनिङ र भनसुनका कारण नै व्यवहारमा न्यायपालिका मुक्त हुन नसकेको बताए ।
उनले भने, प्रधानन्यायाधीश दवाव र प्रभावबाट मुक्त हुने हो भने न्यायपालिका स्वतन्त्र हुन्छ । कार्यपालिकालाई हस्तक्षेप गर्न नदिने हिम्मत प्रधानन्यायाधीशले गर्नुपर्छ । आजसम्म कुनै पनि प्रधानन्यायाधीशले गर्न सकेनन् ।