महिला–पुरुषबीच अचम्मको मितेरी : १० वर्षपछि टिकाटालो
काशीराम शर्मा,
प्रकाशित २०७६ वैशाख २१ शनिबार
745
Shares
काठमाडौं । करीब १० वर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारिकरुपमा जोडिएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिक रूपमा मितेरी लगाएका छन्।
थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन संवाद गरिरहने क्रममा नजिक बनेका गिरी र चौधरीले लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए । उनीहरुले भने, “सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।”
रेडियो कार्यक्रममा हुने फोन संवादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उनीहरुले दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । गिरी भन्छन्, “हामी १० वर्षदेखि एउटा परिवारजस्तै भएका छौँ, विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।”
नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भएपछि आफूहरु पारिवारिकरूपमा पनि नजिकिँदै गएको बताउँदै उनीहरु भन्छन्, “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन गर्र्यौं, यो सम्बन्ध पारिवारिकरूपमा पनि निकट भयो, हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ।”
गिरी भन्छन्, “रेडियोमा नाम सुने, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उनलाई मितिनीको नाता लगाए, केहीले शङ्का गरे, मैले त्यो शङ्कालाई प्रष्ट्याए, हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।” दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।
“हाम्रा सोचहरु अझै नकारात्मक विचारहरुले भरिएका छन्, हामी अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्छौँ, हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ”, चौधरी भन्छन्, “हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ, मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।”
चौधरी भन्छन्, “सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौँ, मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन, महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो, सामाजिक विभेदको अन्त्य आफैंबाट शुरु गर्नुपर्छ ।”
सबैले समान लिङ्गबीच मितेरी लगाउँछन् । गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे पाण्डे भन्छन्, “मलाई अनौठो लागिरहेको छ, महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो हुनुपर्छ ।” रेडियो कार्यक्रमबाट नजिक बनेका गिरी र चौधरीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।
“मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिएँ, मलाई आफैं पनि अनौठो लागिरहेको छ”, पण्डित इन्द्रप्रसाद उपाध्यायले भने, “मैले आफूलाई पनि भाग्यमानी ठानिरहेको छु, उनीहरुको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको छ, म उनीहरुलाई शुभकामना दिन्छु ।”
यसरी भयो चिनजान
आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ वर्षीय श्याम आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी छन् । साथीभाइसँग सहजै निकटता बनाउन सक्ने उनीको खुबी हो । उनी नयाँ साथीसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा उनले फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।
नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उहाँको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनीहरुले मितिनीको नाता गाँसे ।
बाँके बैजापुरकी श्यामकुमारीको रेडियोमोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहन्छिन्। राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी ३० वर्षीया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छिन्। पढाइमा स्नातक गरेका उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेका छन् । स्नातकसम्मको पढाइ पूरा गरेर श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिन्छिन् । सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन् । उनी दुवै जनाको उमेर अन्तर करीब १९ वर्ष छ । रासस