नागरिकसँग गरिएका प्रतिबद्धा पूरा गर्छौं : नेता रावल
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
292
Shares
डोटी । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले नगारिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडा तथा वडा नं ४ पिपल्ला जोड्ने झोलुङ्गे पुल शिलान्यासका लागि यहाँ आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहनुभएका नेता रावलले भने, “हामीले जे गर्छौं भनेका थियौँ ती सबै पूरा गरेरै छोड्छौँ ।” स्थानीय तहको निर्वाचनका क्रममा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडामा पनि विगतमा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी आयोजना निर्माण र झोलुङ्गे पुल निर्माण गर्न लागिएको उनको भनाइ थियो ।
्प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयको रु ५७ लाख ३१ हजार ४११ को लागतमा बन्न लागेको उक्त पुलले जिल्लाको पिपल्ला बजार, घोल्ताडा, रातुली तथा पाकरी गाउँ जोड्ने स्थानीयवासी टीकासिंह भण्डारीले जानकारी दिए ।
उनले भने, “पुल नहुँदा यहाँका चार गाउँका बासिन्दालाई ओहोर–दोहोर गर्न निकै समस्या थियो। ” नेता रावलले सार्वजनिक यातायातका लागि दिपायल सिलगढी नगरपालिकाले किनेको नयाँ नगर बस पनि शुभारम्भ गरे।
नयाँ बस दिपायल सिलगढी नगर क्षेत्रभित्र सञ्चालन गरिने भएका छन् । दुईवटा बसलेमात्र यात्रुको चाप थेग्न नसकेका कारण थप नयाँ बस ल्याइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताए ।