बुटवल । नेपाल कम्युनिष्ट पार्टीका रुपन्देहीका सचिव दधिराम न्यौपाने (माधव शर्मा )ले पदबाट राजीनामा दिएका छन । पार्टीको एकिकरणका क्रममा भएको सहमती अनुसार सचिव बनेका दधिराम न्यौपाने (माधव शर्मा )ले मंगलबार पार्टी अध्यक्षलाई राजीनामा दिएको बताए ।
उनले पार्टी एकताको मर्म र भावनालाई असर नपर्ने गरी राजीनामा दिएको बताए । 'हो मैले राजीनामा पठाएको हुं तर मनोनयन प्रति असन्तुष्टि वा असहमती होईन केही प्राविधिक कारणले सचिव मनोनित भएको हुं मेरा राजीनामाले पार्टी एकतामा असर पर्दैन' उनले भने ।
केन्द्रले राजीनामा स्वीकृत गरेपनि ठिक छ नगरे पनि समस्या छैन केन्द्रले होईन राजीनामा स्वीकृत हुदैन काम गर्नु पर्छ भन्यो भने पनि तयार छु उनले थपे ।
पार्टीको केन्द्रिय सदस्य समेत रहेका न्यौपाने पार्टीको जिल्ला तहसम्मको एकिकरण प्रक्रिया टुंगो लगाउने क्रममा बनेको पछिल्लो कार्यबिधीले सचिव बन्नु परेको थियो ।
पार्टीको माथिल्लो तह र सरकारको नेतृत्वमा रहेका कतिपय नेताहरु पार्टी एकिकरणको क्रममा आफुभन्दा कनिष्ट नेताको मातहत रहेर काम गर्नु पर्ने अवस्था श्रृजना भएपछि एकिकरणका लागि बनाइएको बिधी प्रति आलोचना भएको थियो ।
न्यौपाने तत्कालिन नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए भने एमाले माओवादी केन्द्रका बिच एकिकरण हुदा केन्द्रिय सदस्य भएका थिए ।
रुपन्देही जस्तै चितवन, धादिङ, तनहुं, स्याङ्जा लगायतका ९ वटा जिल्लाहरुमा केन्द्रिय सदस्य भई सकेका नेताहरु जिल्ला सचिव बन्नु पर्ने अवस्था देखिएको छ ।