राजपाको तेस्रो स्थापना दिवश : मूलभूत मुद्दामा रुमलिँदै वित्यो २ वर्ष
प्रकाशित २०७६ वैशाख ७ शनिबार
815
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तेस्रो वर्षमा प्रवेश गरेको छ । विसं २०७४ सालको आजकै दिन मधेस केन्द्रित विभिन्न छवटा दल मिलेर सिंगो राजपा नेपालको गठन भएको थियो । वर्षको २ वर्षसम्म आईपुग्दा राजपा आफ्नो मूलभूत सिद्धान्तलाई कत्तिको हाँसिल गर्न सफल भयो ? यस विषयमा समीक्षा गर्न सुरु भएको छ । यही अवधिमा राजपाको मूलभूत उपलब्धि भनेको प्रतिनिधि सभामा रहेको प्रमुख ५ पार्टी भित्र आफूलाई पनि समावेश गराउनुलाई लिन सकिन्छ । यसबाहेक मधेशका मुद्दामा भने राजपा विचलित भईरहेको मधेशका नागरिकहरुको गुनासो छ ।
दुईवर्ष अघि ठूलो संघर्षपछि महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल मिलेर एउटा राजपा नेपाल गठन भएको थियो ।
मधेशका मुद्दाहरु समाधान गर्ने शर्तमा राजपाले सुरुवातदेखि नै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको थियो । तर, सर्वोच्च अदालतले राजपाका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि सोही विषयमा असहमति जनाउँदै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारमा बसुन्ज्याल राजपाले खुलेर आफ्ना मुद्दाहरुबारे केही पनि विषय उठान गरेन । ३ वर्षसम्मपनि पार्टी महाधिवेशन गर्न गर्न नसकेको राजपाले उठाएको संविधान संशोधन लगायतका राजपाका मुद्दाहरु अहिले पनि थाति छन् ।
नेपालसँग अहिले प्रतिनिधिसभामा १७ र प्रदेशसभामा २५ सांसद छन् । राजपा नेपालले प्रदेश २ मा सङ्घीय समाजवादी फोरम नेपालसँग मिलेर सरकार गठन गरेको छ । र, संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको छ । राजपा नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय पेस गरेको थियो । तर, स्थापनाको एक वर्ष पूरा भए पनि दलले महाधिवेशन गराउन सकेको छैन ।
राजपाको गत असारमा ३ दिनसम्म निरन्तर बसेको राजनीतिक समितिको बैठकले आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टी महाधिवेशन गर्न कम्तिमा ६र७ महिना लाग्ने र बर्खा महिना पनि सुरु भएकाले महाधिवेशन आगामी वैशाखमा मात्र गर्ने निर्णय त्यतिबेला गरिएको थियो । तर, चैत २९ गते बसेको राजपा अध्यक्षमण्डलको बैठकले आउँदो वैशाख ७ देखि ९ का लागि तोकिएको राजपाको पार्टी एकता महाधिवेशन सार्ने निर्णय गरेको छ । महाधिवेशनको अर्को मिति तय गर्न ८ वैशाखमा अध्यक्षमण्डलको बैठक बोलाइएको छ।