arrow

बुद्धकृष्ण सातौं पटक जिब्रो छेडाउँदै

जिब्रो छेड्नका लागि खोइ नयाँ मान्छे ?

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
jibro-chedaudai.JPG

काठमाडौं । भक्तपुरमा बर्सेनि लाग्ने बोडे जात्रामा सोमबार बुद्धकृष्ण बागश्रेष्ठले सातौं पटक  जिब्रो छेड्दै छन् । मध्यपुर थिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्राका यसवर्ष पनि स्थानीय बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका हुन् । 

प्रत्येक बर्ष  वैशाख २ गते  मनाइने यो जात्राका लागि, नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक बागश्रेष्ठले सातौं पटक जिब्रो छेड्न लागेका हुन् । 

बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन कसैले साहस नदेखाएपछि  जिब्रो छेड्न आफै तयार भएको श्रेष्ठ बताउँछन् । २०६१ सालदेखि २०६४ सालसम्म र २०७४ सालदेखि  भने श्रेष्ठले निरन्तरता दिँदै  आएका छन् । बोडेकै  जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्ेका थिए ।

कसरी शुरु भयो ? 
यो जात्रामा पहिला राक्षसलाई जिब्रो छेडाएर सुरु गरिएको स्थानीयको भनाइ छ । निलबाराही जंगलको दायाँ बस्ने द्वारपालले खेतैखेत भएको देश अर्थात् अहिलेको बोडेमा आएर दुः ख दिएको र त्यसलाई त्यहाँका बासिन्दाले समातेर कहिल्यै नफर्किने गरी गाउँबाट लखेटेको खुशीयालीमा जात्रा सुरु भएको जनविश्वास छ । 

द्वारपाललाई बोडेमा आएर ७ वर्षसम्म जिब्रो छेडाएर नगर परिक्रमा गर्ने वाचा गरी छोडिएको र ७ वर्षपछि भने यहीकै स्थानीयले बोडेको हितमा जिब्रो छेडाउँदै आएको कथन छ । 

सीयोको कथा 
११ इन्चको नटुचा अर्थात सुइरो बोडेको लाकुछें टोलको एक घरमा एक महिनादेखि खाने तेलमा डुबाएर राखिएको छ । वैशाख २ गते त्यही नटुचा बुद्धकृष्णको जिब्रोमा छेडिन प्रयोग हुन्छ । लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा बनाउँदै आइरहेका छन् । 

यसपटक ६१ वर्षे धर्मलाल नकर्मीले जिब्रो छेड्नका लागि नटुचा बनाएका छन् । २ दशकदेखि जात्राका लागि नटुचा बनाउँदै आएका नकर्मीको, यो पेशा पुख्र्यौली पेशा हो । बोडे पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा  छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ । 

जिब्रो छेड्नका लागि खोइ नयाँ मान्छे ?  
बोडेलाई चिनाउने यो जात्रालाई सिमित व्यक्तिहरुले व्यक्तिगत रुपमा निरन्तरता दिँदै आएका छन् । बोडेमा जिब्रो छेड्ने र छेडाउनका लागि नयाँले साहस देखाउन सकेका छैनन् । समस्या जिब्रो छेड्ने मान्छेको मात्रै होइन, हाल बोडेमा कमी नायः (जिब्रो छेडाइदिने व्यक्ति) नै छैनन् । दुवैको अभाव छ । 

त्यसैले यस बर्ष बुद्धकृष्ण दाजुभाइले पालैपालो जिब्रो छेडाउने काम गर्दै आएका छन् । यतिबेला बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने र उनकै दाजु कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडिदिने काम गर्दै आएका छन । 

पहिलाभन्दा बोडेको जात्रा हेर्ने मानिसको संख्या बढ्दैछ। तर जात्रा र परम्परालाई निरन्तरता दिनेको कमी छ । जिब्रो छेडाउने निकै साहसको कार्य हो, जसलाई निरन्तरता दिन अर्को हिरो देखा परेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ