पुष्पलाललाई ‘नेपालरत्न’, शताब्दी पुरुषलाई महाउज्ज्वल राष्ट्रदीप
प्रकाशित २०७६ वैशाख १ आइतबार
595
Shares
काठमाडौँ । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए ।
त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरिन् ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरियो ।
विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनिहरुलाई राष्ट्रपतिले आइतबार सुशोभित गरेकी हुन् ।
सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए
त्यस्तै राष्ट्रपतिले राष्ट्रिय समाचार समिति (रासस) का प्रशासन प्रमुख उत्तम सिलवाललाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) मानपदवीद्वारा विभूषित गरिन् ।