यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ वर्षको पहिलो सम्बोधन
प्रकाशित २०७६ वैशाख १ आइतबार
272
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा पहिलो सम्वोधन गरेका छन् । उनले साथ र सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । उनले गएको वर्ष कर्णालीको राराबाट भर्ना अभियान सुरु गरेको र त्यो सफल भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले सिक्नलाई तयार भएको विषयमा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्ना दर ८६ प्रतिशत रहेको र यो विश्वमै रहेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले यसले सन्तोष दिएको पनि बताएका छन् ।
नेपालको शान्ति प्रक्रियाबारे विदेशबाट गरिएको प्रशंसा राम्रो भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संघीयता विल्कुलै आफूहरुका लागि नयाँ भए पनि व्यवहारबाट सिक्दै आगडि बढिरहेको बताएका छन् ।
उनले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको यात्रामा खर्चिएको भन्दै अब त्यही लयलाई अगाडि बढाउने उनले बताएका छन् ।
उनले यसका लागि सहकार्यको खोजी गरिरहेको भन्दै लगानी सम्मेलन त्यसको उपज भएको बताएका छन् । ओलीले कसैले निराशा पोख्न सक्ने र एक वर्षमा के नै गर्यो र सरकारले ? भनी प्रश्न नगरी नयाँ शैलीले प्रश्न गर्न आग्रह गरेका छन् ।
पहिले नचलेका विमानस्थल अहिले कति संचालनमा आए ? नेपालसंग अहिले कति विमान छन् ? ज्येष्ठ नागरिक बिमा कार्यक्रमले आमा–बुबालाई कस्तो लाग्दैछ ? खोलौं बैंकखाताले कस्तो गर्दैछ ? नेपालको पानी जनताको लगानी कार्यक्रमले के कति लाभ हुन्छ ? आदि आदि प्रश्न गर्न उनले आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हाम्रा कामहरुले ल्याएको परिवर्तनले जनताले महसुस गर्नेछन् भन्दै व्यवहारबाट नै जवाफ दिने बताएका छन् ।
जनताको जीवनलाई सहज र सुखी बनाउने नै आफूहरुको काम भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले आफूहरुले थालेको रोजगारीका विभिन्न कार्यक्रम समृद्धिका हिस्सा भएको बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको अनुहार नहेर्ने आफ्नो दृढता कायमै रहेको भन्दै त्यस्ताका बारेमा बोल्दा मुखमा पानी नहाल्न पनि आग्रह गरेका छन् ।
उनले गत साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियान रहेको बताए । सरकारको घेरामा परेका र विगतमा अवान्छित कार्य गर्नेहरु अहिले छट्पटाइरहेको उनले बताएका छन् ।
नयाँ वर्षको अवसरमा उनले आफ्नो नेतृत्वको सरकारले राम्रो गति लिइरहेको पनि दावी गरेका छन् ।
जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गराई छाड्नेमा आफू दृढ रहेको ओलीले दावीसमेत गरेका छन् ।
यस वर्षलाई थप उपलब्धीमुलक बनाउन लागि पर्ने संकल्प गर्दै प्रधानमन्त्री ओलीले अलग समूह (सीके राउत) ले नेपालकै राष्ट्रिय गान र राष्ट्रिय झण्डा अपनाउनु पृथकतावादको अन्त्य भएको पनि उनले दावी गरेका छन् ।
लामो द्धन्द्ध र संक्रमणकालको अन्त्य भइरहँदा फेरि अर्को संक्रमण, प्रतिगामी प्रयास (नेत्रविक्रम चन्द विप्लव समूहको हिंसा) लाई रोक्ने पनि उनले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफू अगाडि बढ्नका लागि अरुभन्दा छिटो दौड्नै पर्ने बताएका छन् । उनले नयाँ वर्षमा आइरहँदा समयको हेक्का राखौं भन्न चाहेको पनि बताएका छन् ।
उनले देशको ‘टीठ लाग्दो अवस्था’ लाई उकास्नै पर्नेमा जोड दिएका छन् । समृद्धि र दिगो विकास लक्ष्यका लागि एक दशकभित्रै गर्नुपर्ने भन्दै आफूहरुसंग समयको सीमा रहेको बताएका छन् ।
उनले आफूले एक वर्षमा ७७ मध्ये ३५ जिल्लामा सशरीर पुगेको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा औपचारिक ३१४ वटा कार्यक्रममा सरीक भएको समेत बताएका छन् ।