भद्रपुर । झापाको भद्रपुर नगरपालिका–८ मा १५ दिनअघि बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुले आज वैधानिक संरक्षक पाएको छ । यही चैत १३ गते राति सगरमाथा चोकस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले मेची अञ्चल अस्पताल भद्रपुरमा बुझाइदिएका थिए ।
अस्पतालको संरक्षणमा रहेको शिशुलाई आज जिल्ला बालकल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मेचीनगर–७ सतिगठ्ठाका ४३ वर्षीय कमलप्रसाद खनाल र ४० वर्षीया हरिमाया दम्पतीलाई हस्तान्तरण गरेका हुन् ।
सो शिशु धर्मपुत्रका रुपमा पाऊँ भनी खनाल दम्पतीले चैत १४ गते नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराई अस्पतालमा शिशुको स्याहारसुसार गर्दै आएको थियो । विवाह भएको १८ वर्षसम्म सन्तान नभएको र चिकित्सकले पनि गर्भधारण हुन नसक्ने जानकारी गराएकाले सो दम्पतीलाई शिशु हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।
कार्यालयमा तीन निवेदन परेका थिए । निवेदन दिएका व्यक्ति र शिशुका बारेमा बुझ्नका लागि बालकल्याण समितिका सदस्य इन्द्रप्रसाद ओलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले स्थलगत अवलोकन गरी बुझाएको प्रतिवेदनका आधारमा खनाल दम्पतीलाई शिशु हस्तान्तरण गरिएको सहायक प्रजिअ पौडेलले बताए।
बालकल्याण समितिका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनाली, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरसहित अन्य सरोकार पक्षको उपस्थितिमा शिशु हस्तान्तरण गरिएको छ ।
बालकल्याण समितिले अहिले ती दम्पतीलाई शिशुको संरक्षकका रुपमा मात्रै अधिकार दिएको छ । सहायक प्रजिअका अनुसार शिशु हस्तान्तरणपछि नियमित अनुगमन गरेर निश्चित अवधिभित्र विभिन्न कानूनी प्रक्रिया पूरा गरेर मात्रै खनाल दम्पतीको धर्मसन्तानका रुपमा आधिकारिता प्रदान गरिनेछ ।