हेलि उडान, प्रतिकुल मौसमका कारण राज्यको २० लाख रुपैयाँ जोगियो
प्रकाशित २०७५ चैत २३ शनिबार
166
Shares
काठमाडौं। हेलिकोप्टर उडानका लागि मौसम प्रतिकुल बन्दा शनिबार राज्यको २० लाख रुपैयाँ जोगिएको छ। प्रतिकुल मौसमकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरी चतराधाम जाने कार्यक्रम एकाएक राकिँदा राज्यको २० लाख रुपैयाँ जोगिएको हो। पूर्व निर्धारित तालिका अनुसार सुनसरीको चतरामा शनिबारदेखि आयोजना हुने अर्धमहाकुम्भ मेलाको उद्घाटनका लागि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल सहितको टोली बिहान साढे १० बजे हेलिकोप्टरमा चतारा जाने तालिका थियो।
तर मौसमले साथ नदिएपछि प्रधानमन्त्रीको टोली चतारा जाने कार्यक्रम रद्द भएको, ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उच्चस्तरीय सरकारी भ्रमणका क्रममा प्रधानमन्त्री, राष्ट्रपतिले नेपाली सेनाको एम आइ सेभेन्टिन हेलिकोप्टर प्रयोग गर्ने गरेका छन्। नेपाली सेनाले यो हेलिकोप्टर नीजि रुपमा भाडामा लगाउँदा, एक घण्टाको ४ लाख ६२ हजार रुपैयाँको दरले लिनेगर्छ।
ओलीका प्रेस संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीले आज चतारा जाँदा आउँदा चारदेखि पाँच घण्टा खर्चने तालिका थियो। यो हिसाबले आज मौसम प्रतिकुल नभएर प्रधानमन्त्री चतारा जान पाएको भए राज्यकोषको २० लाख रुपैयाँ खर्च हुने थियो। यो रकम मौसमले जोगाइदियो।
‘जगतगुरु’बालसन्तको अगुवाइमा प्रधानमन्त्री केपी ओलीलाई प्रमुख आतिथि बनाएर गरिएको ‘पिण्डेश्वर अर्धमहाकुम्भ मेला’ का लागि प्रदेश १ सरकारले ५० लाख रुपैयाँ निकासा गराएको छ।
‘कृष्णदासजी महाराज’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाएर ‘तारमब्रह्म महायज्ञ’ आयोजना गरेको दुई महिना नबित्दै चतरामा बालसन्तको अगुवाइमा अर्धमहाकुम्भ मेला आयोजना गरिएको हो।
अर्धमहाकुम्भ मेलामा जान नपाएपछि प्रधानमन्त्री ओलीले लिखित सम्बोधन पठाएर चित्त बुझाएका छन्। प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुन नपाएपछि अर्धमहाकूम्भ मेला उद्घाटनको जिम्मा निभाउने मौका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मिल्यो।