परासी । मधेसी मोर्चाले नवलपरासीमा बन्दलाई केही खुकुलो पारेपछि जिल्लाको सदरमुकाम परासीमा चहलपहल सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी मोर्चाले बन्दलाई केही खुकुलो पारेसँगै बजार सञ्चालनमा आएपछि सर्वसाधारणले केही भए पनि राहतको महसुस गरेका छन् ।
बन्द खुकुलो भएपछि खुलेका पसलमा दैनिक उपभोग्य सामान लिन उपभोक्ताको भीड लागेको छ । लामो समयसम्म भएको बन्दको फाइदा उठाउँदै बजारमा बिक्री हुने दैनिक उपभोग्य सामानमा कालोबजारी हुँदै गरेको उपभोक्ताले बताएका छन् ।
खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानको कृत्रिम अभाव देखाउँदै अन्य समयको तुलनामा महँगोमा बिक्री वितरण हुँदै आए पनि प्रशासन भने मौन रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।