कुण्ठा पोख्दै गुटबन्दी नगर्न अध्यक्ष ओलीको निर्देशन
प्रकाशित २०७५ चैत १८ सोमबार
621
Shares
दमक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्ने र गुटबन्दी गर्नेबाट होशियार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
यहाँ आयोजित दमक नगर तथा वडा समितिलाई शपथग्रहण गराउने क्रममा आज प्रधानमन्त्री ओलीले कसैका कुण्ठा भए पार्टी कमिटीमा छलफल गरेर समाधान खोज्न आग्रह गरे । पार्टीभित्रका समस्या पार्टीमा बसेर समाधान निकाल्न सकिने भन्दै उहाँले पार्टी निर्देशन सबैले पालना गर्नुपर्ने सुझाव दिए।
सार्वजनिक रुपमा जथाभावी बोल्दै नहिँड्न आग्रह प्रधानमन्त्री ओलीले अब पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरुमा जिम्मेवारी आएको धारणा राखे । “केही मान्छे उहिल्यैदेखि पार्टी बिग्रियो, सकियो मात्र भनेर हिँडिरहेको सुन्छु,” ओलीले भने, “जनताले दुई तिहाइ मत दिएका छन्, ६ वटा प्रदेशमा हाम्रो सरकार छ, अधिकांश स्थानीय तहमा हाम्रा उम्मेदवारहरुले जितेका छन् । यती हुँदा पनि पार्टी बिग्रिएको मात्र देख्छन् । के गर्दा सप्रेको हुन्छ भन्दिनु पर्यो नि ?”
घर ढलान गरिसकेपछि पनि २१ दिन टेका निकाल्न नहुने भन्दै उनले दुई वटा पार्टी एकता प्रक्रिया चलिरहेका बेला गुटबन्दीको कुरा गर्नु, वरियता मिलेन भन्नु उपयुक्त नहुने दाबी गरे। सो क्रममा नगर कमिटीलाई पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरे र वडा कमिटीलाई केन्द्रीय सदस्य देवेन्द्र दाहालले शपथग्रहण गराएका थिए ।