फिनल्याण्डमा नेपालीबाटै नेपालीको तस्करी र चर्काे श्रमशोषण, रेष्टुरेन्टहरु अनुसन्धानको दायरामा
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत १८ सोमबार
800
Shares
काठमाडौं । फिनल्याण्डमा नेपालीले सञ्चालनमा ल्याएको रेष्टुरेन्टमा नेपाली कामदारको तस्करी हुने गरेको तथ्य फेला परेको छ । त्यसरी तस्करी गरेर लगिएका कामदारहरुलाई चर्काे श्रम शोषण गर्ने गरेको समेत तथ्य फेला परेको हो । फिनल्याण्डकै अनुसन्धान संस्था एनबीआईले नेपाली कामदारमाथि चर्काे श्रम शोषण हुने गरेको ठहर गर्दै त्यहाँ मानव तस्करीको आशंका समेत गरेको छ ।
फिनल्याण्डको चर्चित पत्रिका हेल्सिङ्गिन सानोम्याटले तयार पारेको एक रिपोर्टमा नेपाली रेष्टुरेन्टहरुमा कैयौं नेपाली र अन्य देशका कामदारहरु समेत शोषणमा परेको तथ्य फेला परेको थियो । सो पत्रिकाले तयार पारेको रिपोर्टमाथि अनुसन्धान गर्दा सो तथ्य सही रहेको त्यहाँको अनुसन्धान संस्थाले ठहर गरेको छ । फिनल्याण्डको नेशनल ब्यूरो अफ इन्भेसिटगेसनका विशेष अनुसन्धानकर्ता तुईजा हेटानिमीका अनुसार फिनल्याण्ड आउनको लागि विभिन्न देशका मानिसहरुले चर्काे धनराशी खर्च गर्ने गरेका छन् । तर, यी रेस्टुरेन्टहरुमा कम मूल्यमा चर्काे श्रम गराएर शोषणा भईरहको छ । यसबारे बोल्न पनि कामदारहरु त्रसित हुने गरेको उनले बताएका छन् ।
विभिन्न नेपाली रेष्टुरेन्टहरुमा १६ घण्टासम्म कामदारहरुलाई निरन्तर काममा लगाउने र न्यून पारिश्रमिक दिने गरेको तथ्य फेला परेपछि त्यहाँको सरकारले समेत यसमा चासो देखाएको छ । त्यहाँ जाने नेपालीहरुलाई मासिक १८ सय युरोमा १५ दिनको २५० घण्टादेखि ३०० घण्टासम्म काममा लगाउने गरेको भेटिएको छ । अहिले फिनल्याण्डको रेस्टुरेन्ट क्षेत्रका कामदारहरुको श्रमको दर मासिक आम्दानी ३५ सय युरो भन्दा धेरै छ । तर, नेपाली रेस्टुरेन्टहरुमा काम गर्नेलाई भने १६ देखि २० घण्टासम्म काममा खटाएर जम्मा मासिक १८ सय युरो मात्रै तलब दिने गरेको समेत भेटिएको हो । यसरी पैसा दिँदा बैंकबाट दिनुपर्ने प्रावधान रहेकोले ती रेष्टुृरेन्ट सञ्चालकहरुले आफैंले चलाएको बैंक खातामा धेरै पैसा पठाउने र ती कामदारहरुलाई नगद मारिश्रमिक दिने गरेका छन् ।
फिनिस हस्पिटालिटी एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत तिमो लाप्पीले नेपाली रेष्टुरेन्टहरुले सरकारी नियमको खिल्ली उडाएको भेटिएको जानकारी दिएका छन् । अहिले सो विषयमा त्यहाँको अनुसन्धान संस्थाले थप अनुसन्धान गरिरहेको छ । ती रेष्टुरेन्टहरु छाडेर गएका कामदारहरुले सो विषयमा गुनासो गरेका थिए । सोही गुनासो पछि त्यहाँको पत्रिकाले त्यसबारे रिपोर्ट बनाएको थियो । त्यसपछि अनुसन्धान संस्थाले पनि सक्रियता देखाएको छ र त्यो मुद्दा अहिले एनबीआईले हेरिरहेको छ ।
नेपालबाट र विभिन्न देशहरुबाट मानव तस्करी गरी ती रेस्टुरेन्टहरुमा कामदार पठाईने गरेको समेत अनुसन्धानको क्रममा भेटिएको छ । अनुसन्धानको क्रममा १०० जना भन्दा बढी मानिसहरुलाई तस्करी गरी वेटर र भुईँ पुछ्ने काममा लगाएको भेटिएको छ । मानव तस्करीको बारेमा थप अनुसन्धान भईरहेको पनि त्यहाँको एनबीआईले जनाएको छ ।