सवै तहका कार्यकर्तालाई उद्दारमा खटिन कांग्रेस महामन्त्रीको आग्रह
प्रकाशित २०७५ चैत १८ सोमबार
550
Shares
पाल्पा । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी विपतीबाट आफू र नेपाली कांग्रेस पार्टी मर्माहत भएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा.कोइरालाले बारा–पर्सामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी, कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सबैप्रति धन्यावाद ज्ञापन गरेका छन् । विपतीको यस घडीमा तेरो र मेरो केही पनि नभनेर पीडितहरूको उद्धार र राहतमा ध्यान दिन सबैमा कांग्रेसका महामन्त्री डा. कोइरालाले अपील गरेका छन् ।
उनले भनेका छन्, ‘यस दुखद् घडीमा हामी सबै मिलेर सामना गर्नुपर्छ । मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछु ।’ नेपाली कांग्रेसका महामन्त्री डा।कोइरालाले हावाहुरीबाट घर भत्किएकाहरूलाई उचित क्षतिपूर्ति र राहत दिन पनि माग गरेका छन् ।
डा. कोइरालाले नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धारमा खटिन अपील गरेका छन् । उनले घाइतेहरूको उपचारमा सक्रिय हुन आग्रह गर्दै रगत अभाव भएका अस्पतालमा पुगेर रक्तदान गर्न आग्रह गरेका छन् ।
प्रेस वक्तव्य
हिजो आइतबार साँझ आएको भीषण हावाहुरी र पानीका कारण बारा र पर्सा जिल्लामा तीन दर्जन भन्दा बढी व्यक्तिको ज्यान गएको र धेरै व्यक्तिहरु घाइते भएको घटनाले मलाई स्तब्ध र दुःखीत बनाएको छ ।
यस विपदमा परी दिवंगत हुनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरुको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु ।
साथै, राहत र उद्धारको कार्यमा जुट्न तथा पीडित परिवारको पुनस्र्थापनामा सहयोग पुर्याउन म सम्बन्धित निकाय, पार्टीका साथीहरु र दिदीबहिनी तथा दाजुभाइहरुमा समेत हार्दिक अपिल गर्दछु ।