काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको माग गर्दै आजदेखि देशभर हस्ताक्षर अभियान शुरु गरेको छ ।
यही चैत २३ गतेसम्म सञ्चालन गरिने उक्त कार्यक्रममा देशका सबै जिल्ला सदरमुकाममा हस्ताक्षर सङ्कलन केन्द्रको व्यवस्था गरिएको राप्रपाले जनाएको छ । उक्त अभियानलाई सोमबारदेखि स्थानीय तह, क्षेत्रीय तह, नगर तहसम्म पुर्याइने बताइएको छ । तल्लो तहदेखि नै सङ्कलन गरिएको हस्तारक्षरलाई एकीकृत गरी आगामी वैशाखमा सरकारलाई बुझाउने कार्यक्रम छ ।
पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले काठमाडौँ, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाले क्रमशः झापा र बाँकेमा अभियानको नेतृत्व गर्नुभएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।
वसन्तपुरमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तामाङले मुलुकको प्राचीन सभ्यता, संस्कृति, सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको पहिचान खाँचो रहेको बताउँदै उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक शक्तिहरूबीच समन्वय हुनुपर्नेमा जोड दिए।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले छिट्टै हिन्दू राष्ट्र कायम गर्न सातै प्रदेशका सदरमुकाममा हिन्दू राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न जनसङ्घर्षका कार्यक्रमलाई सशक्त रुपमा सञ्चालन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए।