म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
प्रकाशित २०७५ चैत १७ आइतबार
633
Shares
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरेका छन् । दाहालले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताएका हुन् ।
अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको दाहालले बताए । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको उनले स्पष्ट पारे । “सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” उनले भने ।
संविधान संशोधनको मागप्रति लक्षित गर्दै दाहालले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशिल दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने दाहालले बताए । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे । देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उनले २१ शताब्दीको परिस्थितीमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताए ।
नेपाललाई गरिब देशको रुपमा नभै विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको दाहालले बताए । हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने दाहालले बताए । मञ्चमा रहेका नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलाई सम्बोधन गर्दै दाहालले छिमेकी देशहरुको सहयोग पनि आवश्यक रहेको बताए ।
पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै दाहालले चिन्ता व्यक्त गरेका छन् । “कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन् ।” दाहालले भने ।
आफू अमेरिका गएका बेला अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति दाहालले असन्तुष्टी पाखे । “एउटा नेपालीले नै मलाई हत्यारको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?” दाहालले भने ।
अमेरिका जाँदाको तितो अनुभव भन्दै दाहालले त्यसो भनेका हुन् । आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराए ।
आफू डराएर यो अनुभव सुनाएको नभै श्रीमतीको उपचारमा जाँदा समेत त्यस्तो गरिएकोमा दुःख लागेका बताए । “मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।”–दाहालले भने । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।
फरक प्रसंगमा दाहालले राजतन्त्रको अन्त्यपछि पनि यो प्रक्रियालाई उल्ट्याउने कुरा निरङ्कुशतावादी शक्तिको दिमागमा रहिरहनु सामान्य भएको बताए । तर इतिहासको एउटा मञ्चमा मिल्काइएको कुनै पनि शक्तिलाई अब कसैले पनि आत्मसात नगर्ने दाहालले बताए ।
“संघीय लोकतात्रिक गणतन्त्र उल्ट्याएर फेरी पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव छ । तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन् ।” दाहालले भने । बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्ने उनको तर्क थियो । त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने दाहालले बताए ।
क्बलको २१ वर्षमा प्रवेश गरेको अवसरमा दाहालले क्लब र यसका संस्थापक ऋषि धमलालाई बधाई तथा शुभकामना व्यक्त गरे । “एउटा मान्छेले आफ्नो पेशाको लगन सक्रियता र मिहिनेतले कतिसम्म सफल हुन्छ भन्ने उदाहरण ऋषि धमला र रिपोर्टर्स क्लब हो ।”–दाहालले भने । दाहालले धमला र क्लबबाट मिहिनेत र लगनशिलताको नक्कल गर्नुपर्नेसमेत बताए ।