काठमाडौं । गैरआवासीय नेपाली संघको निरन्तर अनुरोध पछि नेपाल सरकार अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरेको छ ।
डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए । सरकारले गैरआवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसंग मिलेर काम गर्ने बताए ।
यसरी अध्यागमन विभागका महानिर्देशकले विभागले गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। कार्यक्रममा अध्यक्ष भट्ट सहित उपाध्यक्षद्वय कुमार पन्त, कूल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले गृहमन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापना गर्ने काममा आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए । यस अघि संघका उपाध्यक्ष कुल आचार्य र एनसिसि युकेले अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेललाई लण्डनमा यस बारे ध्यानाकर्षण गराउंदै एनआरएन डेस्क खोलि दिन आग्रह गरेका थिए ।