arrow

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
pm-kp-oli1.jpg

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उनले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।

“गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्योक्रम दाहोरिँदैन”, उनले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ ।” प्रधानमन्त्री ओलीले जनसङ्ख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको भन्दै कर्णालीमा भूगोलका आधारका स्रोत परिचालन गरिने जानकारी गराए ।

“कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ”, उनले भने, “यस भूगोललाई विशेषरुपमा बजेट विनियोजन गरेर विकासको मूल प्रवाहमा ल्याउनु पर्दछ ।” कर्णाली सम्भावनायुक्त प्रदेश भएकाले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । “यहाँको खनिज, जलस्रोत, जडीबुटीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ” उनले भने । प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाको विवरण वैशाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदलाई निर्देशनसमेत दिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा एक टोली गएको थियो । मुगुबाट निर्वाचित सांसद गोपाल वमले सबै जिल्लाका सांसदले कर्णाली प्रदेशको विकासका लागि सरकारको ध्यान जानुपर्ने माग गरिएको बताए ।

उनका अनुसार सबै सांसदले चालू आर्थिक वर्षमा पनि कर्णाली प्रदेशका जिल्लामा बजेट कम गएकाले विकासले गति लिन नसकेको बताएका थिए । उनले आगामी बजेट र नीतिबाट कर्णालीलाई समृद्ध बनाउन सबै सांसदले प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ