होलीको अवसरमा सुखद सन्देश दिनेगरी निर्णय गर्यौं – विश्वप्रकाश शर्मा
प्रकाशित २०७५ चैत ६ बुधबार
261
Shares
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले होलीको अवसरमा सुखद सन्देश दिने गरी पार्टीले विभिन्न समितिमा निर्णय गरेको बताएका छन् ।
उनले पार्टीभित्र नेताहरुबीच कुनै आपस असमझदारी नभएको भनेर सन्देश दिनुभन्दा पनि अहिले उठेका विषयमा सौहार्दपूर्ण तरिकाले समाधान गर्न सकिएको स्पष्ट पारे ।
नेपाली काँग्रेसको विधान परिमार्जित कानुनअनुसार बनिरहेकाले गर्दा पनि केन्द्रीय कार्यसमितिमा यसका बारेमा गम्भीर रुपले छलफल भइरहेको पनि प्रवक्ता शर्माले बताएका छन् ।
मंगलबार निर्वाचन समिति, विनियमावली मस्यौदा समिति, अनुशासन समिति सोही अनुसार सर्वसम्मत निर्माण भएको भन्दै उनले स्थानीयतहदेखि नै काँग्रेसलाई तरंगित गर्ने प्रयास भएको बताए ।
काँग्रेसले वर्तमानमा सरकारले गरेका निर्णयको सूक्ष्म अध्ययन गरिरहेको भन्दै सोही अनुसार चल्न सरकारसंग चल्न पनि माग गरेको उनले बताए ।
उनले भने, ‘सिके राउत पक्ष मुलधारको राजनीतिमा आउनु राम्रो हो । तर जसरी ११ बुँदे सहमतिमा भाषाको समस्या भयो त्यो स्पष्ट पारिनु पर्छ भन्नेमा हौं । त्यसैगरी विप्लव समूहलाई पनि प्रतिबन्ध लगाएर समाधान भन्दा वार्ताबाटै समाधानबाट खोज्न माग गरेका छौं ।’
एउटै दर्शन बोेकेका दुई कम्युनिष्टहरु आपसमा लड्नुभन्दा पनि वार्ता गरी समाधानमा लाग्नुपर्नेमा आफूहरुको जोड रहेको पनि उनले स्पष्ट पारे ।