काठमाडौ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँशक्ति निर्माणको नाममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेको अभियान कुनै पनि हालतमा सफल हुन नसक्ने ठोकुवा गरेका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नयाँ शक्ति निर्माणको नाममा बाबुराम भट्टराईले ठूलो गल्ती गरे । उहाँले गरेको कुरा कुनै पनि हालतमा ठिक छैन । अहिलेको अवस्थामा त्यस्तो शक्ति नेपालमा बन्ने सम्भावना र आधार छैन । नयाँ शक्ति हावामा निर्माण हुन सक्दैन ।’
उनले पार्टी छाडेर जाँदैमा नयाँ शक्ति नबन्ने दावी गर्दै भएका पार्टीलाई नै पछिल्लो अवस्था र परिस्थिति अनुसार रुपान्तरित गरेर नयाँ शक्तिसहितको पार्टी बनाउनु पर्ने धारणा राखे । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले एमाओवादीबाट अहिलेसम्म पाँच समूह बाहिरिसकेको अवस्थामा बाबुराम भट्टराईको हल्लाले कुनै फरक नपर्ने भन्दै पार्टीमा असन्तुष्टी राखेका ४५ जना सम्पर्कमा रहेको र त्यसमध्ये ८० प्रतिसत एमाओवादीमै फर्कने दावी गरे । उनले भने,‘ ४५ जनाले पार्टीमा राजिनामा दिएका छैनन, फरक मत मात्रै राखेका हुन । सबै मेरो सम्पर्कमा छन । उनीहरुले पार्टी छाड्दैनन ।’
उनले नयाँ शक्ति निर्माणको अभियानमा र प्रधानमन्त्री निर्वाचानको समयमा पार्टीबाट सभासद लान खोजे पनि भट्टराई सफल नभएको भन्दै नयाँ शक्ति निर्माणको नाममा गल्ती गरेकोले त्यो सफल हुनै नसक्ने ठोकुवा गरे । उपप्रधानमन्त्री रायमाझीले भट्टराई सहितका बाहिर गएका नेताहरु फर्किएर एमाओवादीलाई नै नयाँ पार्टी र शक्ति बनाउने लाग्ने विश्वास समेत ब्यक्त गरे । उनले भने,‘ पार्टी अस्थायी हुन्छ । एकता र संघर्ष छिटपुट रुपमा भईरहन्छ आज जे छ भोली त्यो नहुन पनि सक्छ ।’ यद्यपि उनले लाखौ कार्यकर्ता भएको पार्टीमा ४५ जना बाहिरिदैमा पार्टीलाई कुनै फरक नपर्ने ठोकुवा गरे ।
उनले भुकम्पबाट भएको विनासको पुर्ननिर्माण, संविधानको कार्यान्वयन, भारतले लगाएको नाकाबन्दीको सामान गर्न मुलुक अझै एकताबद्ध हुने पर्ने आवश्यकता रहेको बेला जनता टुटफुटको पक्षमा नभएको भन्दै जनताबाट चुनिएको मान्छेले यसरी विचमै छाडेर जनतालाई जनप्रतिनिधि विहीन बनाउन नमिल्ने भन्दै संविधान निर्माणमा सहमति जुटाउन भूमिका खोल्ने नेताले त्यसको स्वामित्व लिन नसक्दा चुकेको आरोप लगाए ।
उर्जा र पेट्रोलियम पदार्थमा एक मुलुकको मात्र भर पर्दा अहिलेको अवस्था आएको भन्दै उनले पेट्रोलियम पदार्थ चीनबाट ल्याउने सम्झौता भईसकेकोले उर्जा सम्झौताको विषयमा पनि आफूहरु अध्ययनमा रहेको बताए । रायमाझीले प्रधानमन्त्रीले नै एक वर्षभित्र मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने भनेर सार्वजनिक रुपमा बोलिसकेकोले अब उर्जामन्त्रालय प्रधानमन्त्रीको भनाईलाई सफल बनाउन लागि परेको भन्दै अब तत्कालको लागि बैकल्पिक उर्जालाई अगाडि बढाउने गृहकार्यमा रहेको बताए ।
उनले भने,‘ बैकल्पिक उर्जाको विकासमा छलफल थालेका छौ । तिहारपछि एक्सनमा जान्छौ ।’ उर्जा संकट समाधानको लागि दिर्घकालिन गुरुयोजना बनाउन लागिपरेको भन्दै लाईसेन्स लिएर काम नगरेका, केही काम भएर रोकिएका कामलाई अगाडि बढाउने तयारी गरिरहेको सुनाए । रायमाझीले उर्जाको विकासको लागि प्रशासनिक र प्राविधिक झण्झट कम गरेर लगानी मैत्रि बातावरण बनाउन लागि परेको भन्दै अब लगानीको बातावरण छैन भनेर कसैले पनि काममा ढिला सुस्ती गर्ने प्रचलनको अन्त्य हुने दावी गरे ।
उनले नेपाली आफैले निर्माण गर्ने गरी बुढी गण्डकी र नरसिंहगाढको अध्ययन भईरहेको जानकारी दिदै सबैको सुझाव नेपालले आफै बनाउनु पर्ने सुझाव आएकोले त्यसमा अघि बढ्ने बताए । संविधानको कार्यान्वयनको समयमा केही दलहरुको अदुर्दशिताले एकता हुन नसकेको भन्दै संविधानको सफल कार्यान्वयन गरेर मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास गर्न सहमति हुनै पर्ने आवश्यकत औल्याए ।
मधेसमा आन्दोलनरत दलहरुसँग औपचारिक र अनौपचारिक रुपमा बार्ता भईरहेको भन्दै केही समयमै नतिजा आउने रायमाझीले दावी गरे । उनले भने,‘ सरकारी बार्ता टोली औपचारिक बार्तामा छ । मसहित धेरै साथीहरु अनौपचारिक बार्तामा हुनु हुन्छ । केही समयमा नतिजा आउँछ । आन्दोलनलाई संविधान संसोधन मार्फत समाधान गर्न खुल्ला छौ । संविधानलाई पूर्णता दिन कुनै काम बाँकी राख्दैनौ । ’
उपप्रधानमन्त्री रायमाझीले भारतीको अघोषित नाकाबन्दी र मधेस आन्दोलनले मुलुकलाई संकटतर्फ धकेलेको भन्दै यसलाई राजनीतिक र कुटनीतिक माध्यमबाट एक अर्काका आशंका मेटाएर सम्बन्धलाई सुदृढ पार्ने विश्वास ब्यक्त गरे । साक्षात्कार अघि क्लबका अध्यक्ष ऋषि धमलाले रायमाझीलाई नेपाल सरकारको उपप्रधान तथा उर्जा जस्तो महत्वपूर्ण जिम्मेवारी पाएकोमा बधाई दिदै कार्यकालको सफलताको कामना गर्दै खाँदा ओढाएर अभिनन्दन गरेका थिए ।