'कम्युनिष्ट नामधारी ओली सरकारको प्रतिबन्ध सिङ्गो कम्युनिष्ट आन्दोलनमाथिको प्रतिबन्ध'
प्रकाशित २०७५ फागुन ३० बिहिबार
344
Shares
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध सिङ्गो कम्युनिष्ट आन्दोलनमाथिको प्रतिबन्ध रहेको नेपाल कम्युनिष्ट पार्टीले बताएको छ । बिहिबार नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष ऋषिराम कट्टेलले विज्ञप्ति गर्दै विप्लबले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीको एक घटक रहेको र सो पार्टीलाई प्रतिबन्ध लगाउनु भनेको नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलन माथिको प्रतिबन्ध लगाएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, '२००८ सालमा काँग्रेसले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो । कम्युनिष्टहरुले त्यसलाई पराजित गरे । २०१७ सालमा राजाले प्रतिबन्ध लगायो । त्यो पनि पराजित भयो । आज कम्युनिष्ट नामधारी प्रतिक्रियावादी ओली सरकारले प्रतिबन्ध लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी ओली सरकारको यो कुकृत्यको विरोध र भत्सर्ना गर्दछ र एकजुट भएर यसको प्रतिरोध गर्न सबै कम्युनिष्ट घटकहरुसँग आग्रह गर्दछ ।'
'नेपालको संविधानको धारा १७,२ को खण्ड ग ले दल खोल्न पाउने स्वतन्त्रता प्रदान गरेको छ । त्यसैको उपधारा ३ को उल्लंघन भएमा कानु बनाएर सजाय गर्ने प्रावधान समावेश छ । तर राजनीतिक दललाई प्रतिबन्ध लगाउन धाार २७० ले बन्देज लगाएको छ । यसर्थ ओली सरकारको यो कुकार्य संविधानको समेत विरुद्ध पनि छ' विज्ञप्तिमा उल्लेख छ।
प्रतिबन्ध साम्राज्यवादको निर्देशनमा नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न गरिएको षड्यन्त्रको उपज भन्दै नेपाल कम्युनिष्ट पार्टीले आउँदा दिनहरुमा पनि सबै परिवर्तनकारी शक्तिहरुमाथि क्रमश प्रतिबन्ध लगाउने गुरुयोजना अन्तर्गत नै यसको प्रारम्भ गरिएको बताएको छ ।
सुनकाण्ड, निर्मला हत्याकाण्ड, वाडबडी काण्ड, एनसेल काण्ड जस्ता अनेकन भ्रष्टाचारजन्य काण्डहरु, राष्ट्रघाताका अनेकन अपराध, प्रतिगामी षड्यन्त्रहरु, माफियाकरण, महँगी, मुल्य वृद्धि, लुटतन्त्र र अधिनायकवाद कुकृत्यका कारण ओली सरकार र सिङ्गो दलाल सत्ताको विरुद्ध जनआक्रोस बढिरहेको पार्टीको ठहर छ । 'यतिमात्र हैन उ आफ्नै पार्टी समेत सम्हाल्न नसक्ने अवस्थामा छ । यस्तो बेला विप्लवहरुको सामान्य कमजोरीमा टेकेर उसलाई हिंसात्मक बाटोमा धकेल्ने र हिंसाकै सहारामा सत्तामा टिक्ने षड्यन्त्रको निम्ति यो प्रतिबन्ध लगाइको पनि प्रष्ट छ' विज्ञप्तिमा छ।
नेपाल कम्युनिष्ट पार्टीले यी सबै परिस्थितिलाई ध्यानमा राखी ओली सरकारको कुकृत्यलाई परास्त गर्दै नेपाली जनवादी क्रान्तिलाई अरु उचाइमा पुर्याउन सशक्त संयुक्त जनसंघर्षको बाटोमा आउन विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ ।