केपी ओली नेतृत्वको नेकपा सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने
प्रकाशित २०७५ फागुन २८ मंगलबार
462
Shares
काठमाडौँ। सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकपछि रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “ उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो । ”
सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकास निर्माणमा अवरोध पुर्याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।