दिवंगत मन्त्री अधिकारीसहित सातै जनाको श्रद्धाञ्जलि
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
326
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्। काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो।
दुर्घटनामा निधन भएका सबैको शव बिहीबार दिउँसो काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान ११ः३० सम्म टुँडिखेलमा राखियो। सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाए। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत भएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए। दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे।
त्यसैगरी मृतकका आफन्तहरु भावविह्वल हुँदै श्रद्धाञ्जलि दिए। सर्वसाधारण पनि उपस्थित भए।