arrow

तीन जनाको शव लिन उड्यो हेलिकप्टर, सातै शव भेला पारी काठमाडौं ल्याइने 

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
helicopter-crash-uddar.jpg

काठमाडौं । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बिहीबार काठमाडौँ ल्याउँदेछ । 

तीन जनाको शव घटनास्थलमा नै रहेकाले प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित नेपाली सेनाको हेलिकप्टर ती शव लिन गएको छ । 

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । 

त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि बिहीबार बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पुयाएएलगत्तै शव काठमाडौँ ल्याइने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । 

बुधबार सुकेटार विमानस्थल ल्याइएका चारवटा शवमा मन्त्री अधिकारीको शव पनि थियो । प्रजिअ भण्डारीले अन्य शव चिन्न सक्ने अवस्थामा नभए पनि मन्त्री अधिकारीको शव भने चिन्न सक्ने अवस्थामा छ । 

शव सुकेटार ल्याइसकेपछि मौसम अनुकुल भए तत्काल काठमाडौं ल्याउन सकिने छ । मौसमले भने त्यति साथ नदिएको सेनानी कमाण्डर चिरञ्जिवी चौलागाइँले बताएका छन् । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । 

सात वटै शव काठमाडौंमा ल्याएपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ