हेलिकप्टर दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न गौतमसहित चार जनालाई जिम्मा, चुनौतीका चाङ
नजिर बन्न सक्छ यो जाँचबुझपछिको प्रतिवेदन
प्रकाशित २०७५ फागुन १६ बिहिबार
349
Shares
काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ताप्लेजुङमा भएको इाइनेष्टि एयरको हेलिकप्टर दुर्घटनामा सवार सबै जनाको निधनप्रति दुःख व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बेलुकी बैठकले उक्त दुःखद् घटना भएकामा फागुन १६ गते राष्ट्रिय शोकको दिन घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उहाँहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेको थियो ।
अकल्पनीय, अप्रत्याशित र दुःखद् सो घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै सरकारले यस घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै उनीहरुको आत्माको चिरशान्तिको कामना गरेको छ । बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेको छ ।
सार्वजनिक बिदा
सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
जाँच आयोग गठन
बैठकले उक्त हेलिकप्टरका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहेको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
आयोगका सदस्यमा सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र सदस्य सचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
चुनौतीका चाङ
गौतमसहितको टिममाथि चुनौतीका चाङ खडा भएका छन् । एकातिर खराव मौसममा जवरजस्ती हेलिकप्टर उडाउन खोजिएको देखिएको छ भने अर्कातिर मन्त्रीसहित स्वयं डाइनेष्टि एयरकै मालिकको मृत्यु भएको छ ।
वरिष्ठ पाइलट दधिराम निरौलाका अनुसार खराव मौसम हुँदाहुँदै जवरजस्ती हेलिकप्टर उडान गर्नु हुँदैनथ्यो भन्छन् । उनले ‘नेपालको आकाश खतरापूर्ण छ भन्ने हैन उडान भर्ने हेलिकप्टर–जहाजको अवस्था कस्तो छ भनेर ख्याल गर्नुपर्छ’ भनेका छन् ।
अर्थात् बुधबारको मौसम मुलुकभर नै ठीक थिएन । मौसमबारे सबै जानकार थिए । पाइलटले टावरसंग सम्पर्क गर्दा हेलिकप्टर उडाउन सकिँदैन, मौसम ठीक छैन पनि भनेका थिए । यति हुँदाहुँदै पनि कसरी जवरजस्ती उडाइयो हेलिकप्टर ?
फेरि अर्कोतर्फ नेकपामा नेता योगेश भट्टराईले प्रश्न उठाएका छन् पाँच जना अट्ने हेलिकप्टरमा कसरी सात जना राखियो ?
दुर्घटना नै दुर्घटना
एक वर्षभित्र नेपाली आकाशमा ९ वटा साना ठूला दुर्घटना भएका छन् । छानबिन समिति बन्छ अनि निष्कर्ष दोषी पाइलटलाई बनाइन्छ । तर तिनीहरुको पछाडि उडान साधन कत्तिको कन्डिशनमा छ भनेर ख्याल गरिँदैन ।
हवाइमात्र होइन नेपालका गुड्ने साधनमा पनि समस्या त्यही नै छ । वायुसेवा निगमका हवाइजहाज पनि उडानभन्दा बढी ग्राउन्डेड हुँदै आएका घटना यसअघि पनि भोग्दै आएको समस्या हो ।
अहिले हेलिकप्टर दुर्घटनामात्र हैन यदि यो घटनालाई नै नजिर बनाउन सक्ने हो भने समग्र दुर्घटनाको चुरो कुरो पत्ता लाग्ने थियो ।