माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपालीले हिन्दु राष्ट्र गुमाए : कमल थापा
प्रकाशित २०७५ फागुन १५ बुधबार
324
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपालीले हिन्दु राष्ट्र गुमाएको बताएका छन् । ताप्लेजुङको फुङलिङमा बुधबार मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष थापाले भने, 'माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपालीले हिन्दु राष्ट्र गुमाए, राजसंस्था गुमाए, फेरि विद्रोहको कुरा अस्विकार्य छ ।'
०६२-६३ को परिवर्तन पछि जबर्जस्ती धर्म परिवर्तन गराइएको भन्दै थापाले हिन्दु बौद्ध किराँत समुदाय धर्म परिवर्तनको निशानामा परेको सुनाए । उनले भने, 'धर्म परिवर्तनको नरोकिए हिन्दु बौद्धिष्ट किराँत अल्पमतमा पर्ने, देश धार्मिक द्वन्द्वमा फस्ने खतरा छ । १२ वर्षको अवस्थालाइ दृष्टिगत गर्दै परम्परागत शक्ति र परिवर्तनकारी शक्तिका बीचमा सामन्जस्य कायम गरिनुपर्छ । देश अभिभावकविहिन भएको छ, राजादेखि सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गरौं ।'
राप्रपाले संघीयता मुलुकले थेग्न नसक्ने, जनताको प्रत्यक्ष अभिमत बिना लागू गरिएको संघीयता बारे जनमत संग्रह गरिनुपर्ने, दोहोरो तेहोरो करबाट जनतालाई मुक्ति दिलाउन पहल गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाको १५ दिने स्वाभिमान यात्रा बुधबारबाट औपचारिक रुपमा शुरु भएको छ । उदघाटन समारोहमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुषराज पुरुषले अभियानको उद्देश्य, औचित्यका बारे धारणा राखेका थिए ।