arrow

कोषाध्यक्ष सितादेवीको चट्टानी अडान

logo
रिता खनाल,
प्रकाशित २०७५ फागुन १५ बुधबार
sitadev-yadav.jpg

काठमाडौं ।  नेपाली राजनीतिमा शिर्षस्थ राजनीति ओहदा र जिम्मेवारीमा रहेका महिला नेतृत्वहरुको राजनैतिक निर्णयहरु स्वचालित ढंगले भन्दा पनि संचालित ढंगले प्रभावित भएको पटक पटकको घटनाले देखाएको छ । साच्चै नारीहरु पुरुष सोच, दृष्टिकोण र अभियानको सहायक मात्र हो त ? पुरुषवादी चिन्तन, महिला सहभागीताको अनिवार्य बैधानिक व्यस्थाले स्थापित गरेको पद धारण गरेको महिला नेतृत्वहरु केबल सहायकको भुमिका निर्बाह गर्ने भन्दा खासै आफ्नो लिङ्ग, समग्र राजनैतिक उत्थान , सिंगो मुलुक र पार्टी हितका पक्षमा एक्लै उभिएको र आफ्नो मुद्दा समग्र सुधारको मार्गमा छ भनेर पार्टी कार्यकर्ता र आमनागरिकलाई सुचित गर्ने अभियानमा लागेको घटनाहरु कमै भेटिन्छ ।

मुलुककै अहिलेसम्मको सर्वोच्च निकायमा पुग्नुगेकी प्रथम महिला राष्ट्रपति विद्यादेवि भण्डारीको कुनैपनि निर्णय स्वचालित ढंगले राष्ट्रपतिय भुमिकाबाट आएको कुनै एउटा घटना पनि महसुस गर्न पाइएको छैन । आफुलाई त्यो ओहदामा बिरासित गराएको पार्टी र आफ्नो सहयोगी नेतृत्वको इशाराभन्दा एक इन्च पनि दायाँबायाँ गर्न खोजेको देखिएको छैन । साच्चै पुरुषवादी चिन्तन पनि महिलाहरुलाइ कठपुतलिनै बनाउन उद्यत देखिन्छ ।

यस्तै परिवेशमा घुमिरहेको नेपाली राजनीति र महिला नेतृत्वको भूमिकाबिच नेपाली कांग्रेसको जारी केन्द्रीय समितीको बैठकमा केन्द्रीय कोषाध्यक्ष  सीतादेवी यादवले आफ्नो फरक दृष्टिकोण र विचारसहित नोट अफ डिसेन्ट लेखिन् भन्ने खबर सुनेर मलाई अलिक उत्साह र आशा पलाएको छ । इतिहासकै आजसम्म्को कालखण्डमा सर्मनाक हार बेहोरेर अत्यन्तै सानो आकारमा खुम्चिएको नेपाली कांग्रेसको माघको अन्तिम सातामा सम्पन्न महासमितिको बैठक तमाम लोकतन्त्रबादी र कांग्रेसजनको लागि अति चासोको विषय बनेको थियो ।
 
गूटउपगुटको चपेटामा गुज्रिएको कांग्रेस त्यो ऐतिहासिक बैठकमा पनि सबै आजसम्म्का उपलब्धी , पराजयका कारण र गल्ती कमजोरी हरुका बारेमा खुलेर बहस आत्मसात र सुधारका मार्ग हरु खोजिनु भन्दापनी १४ औँ महाधिवेशनमा आफ्नो गूटको बर्चस्व बचाउन कसरी सकिन्छ ? भन्ने जोडघटाउमै बढी अब्यस्थ रहदा झन्डै १० दिनसम्म्म्को रस्साकस्सीपछि केही सुधारिएको एकथान विधान बोकेर महासमिति सदस्यहरु अलिकति उत्साह र केही बिरक्ती लिएर घर फर्किए । कांग्रेस केन्द्रीय समितिदेखि स्थानीय तहको सबै संरचनाहरुमा समाबेशितामा केही उदार र आकार अलिक बढेर महासमितिमा विधान पारित भएको थियो । नेपाली कांग्रेसका पार्टी सभापतिहरुले महासमिति भन्दा धेरै अघि देखि नै पटक पटकको भेला र छलफलबाट विधानमा केही सुधारका अति महत्त्वपूर्ण विषयको उठान गर्दै महासमितिको बैठकमा एउटा स्वरमा प्रस्तुत गरेको प्रस्ताव सम्पूर्ण महासमितिको सदस्य हरुको उपस्थितिमा पार्टी सभापतिको प्रस्ताव र बरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा पास भएको थियो ।

महासमिति भेलाले कांग्रेसको विधान र समग्र परिवर्तन थपघट गर्न सक्ने सर्वोच्च निकाय हो । त्यो निकाय भन्दा माथि कांग्रेस केन्द्रीय समिति हुँदै होइन र हुनै सक्दैन तर विधानको ठाडो उलंघन गरि कांग्रेस केन्द्रीय समितीले बहुमतको आधारमा महासमितिको म्यान्डेटको बिपरित निर्णय प्रक्रियामा गएको सुन्दा स्तब्ध बनाएको छ । देशमा सत्तासिन कम्युनिष्टहरुको सर्बसताबाद र अधिनायकवादको बिरुद्ध एकजुट भएर तिनको छदम्भेषि चरित्र , जनता माथी चुनाव अघि गरिएको दिग्भ्रमनको बारेमा आम कार्यकर्ताहरुलाइ उर्जाशिल बनाउदै तमाम नागरिक हरुलाइ सुशोचित र उदाङ्ग बनाउदै जानुपर्ने कांग्रेसको यो रबैयाले अब कुन औँंलाले अरुलाइ अधिनायकवादि भन्ने ? हामी किङ्कर्तब्य मुडमा पुगेउ कि पुगेनौत ? यो रबैया र शैली कांग्रेस र लोकतान्त्रिक चरित्र हुनै सक्दैन ।

केन्द्रीय कार्यसमितिमा शिर्षस्थ नेताहरुले महासमितिको म्यान्डेटका पक्षमा नोट अफ डिसेन्ट लेखे । साच्चै पार्टीलाई बिधि र विधानको मार्गमा हिडाउन गरिएको त्यो प्रयास अगामी दिनमा सार्थक हुन जरुरी छ । पार्टी सुधार र विधान संसोधनमा अत्यन्तै चिन्तित देखिएको कांग्रेसको महासमिति बैठकले उसको सम्पूर्ण जीवनको आधार र मेरुदण्ड रहेको केन्द्रीय कोषाध्यक्ष पदलाई निर्वाचनबाट नभै केन्द्रीय सभापतिले आफ्नो अनुकुलको ब्यक्ति केन्द्रीय समितीबाट मनोनयन गर्न सक्ने निर्णय पारित भयो । यति गम्भीर विषयमा सिङ्गो महासमिति गम्भीर बन्न सकेन । १२ औँ १३ औँ महाधिवेशनमा मात्र ३ पद निर्वाचन गर्दा कोषाधक्ष पदसहित गरिएकोमा २०७५ को ऐतिहासिक महासमितिमा एकदर्जन भन्दा बढी सम्पूर्ण पदाधिकारीहरु निर्वाचित गर्ने प्रस्ताव पास हुदा किन कोषाध्यक्ष पद मात्र निर्वाचन प्रक्रियाबाट निमोटियो यो अति खोजनिय र रहस्यमय र खेदनिय विषय छ ।

देश भरिका लाखौं लाख क्रियाशिल कार्यकर्ताको आस्था र निष्ठाको लेबिले संकलन हुने करोडौं करोडको कोषको रक्षक स्वम कार्यकर्ता आफैले चुन्न पाउने अधिकारलाई किन कटौती गरियो ? त्यो पद केन्द्रीय सभापतिको बाधक किन बन्यो ? कोषाध्यक्ष सितादेबी यादवको के भूमिका रह्यो र यो पद कोपभाजनमा पर्यो ? यो तमाम कांग्रेसजनको अति चासो र खोजको विषय बन्नु पर्दछ । बेलाबखतमा लाखौं लाखको हिसाब अपारदर्शी भयो भन्दै आएको समाचरले हामी सबै चनाखो बन्नुपर्ने थियो ।

कार्यकर्ताको साझा कोषको रक्षक नेतृत्वको अनुकुलको ब्यक्ति होइन समग्र पार्टीको कार्याकर्ताले चुनेको निर्वाचित ब्यक्ति नै हुनुपर्दछ । कोषको सहि सदुपयोग र ब्यब्स्थापनमा पारदर्शी हुन जरुरी छ । मनोनीत नेतृत्व साझा होइन अनुकुलित बन्न बाध्य हुनेछ । जारी केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सहिद पत्नी तराइ मूलकि महिलाले कोषाध्यक्ष पद पनि निर्वाचनबाट नै चुनिनि पर्छ भनेर एक्लै भएपनी आफ्नो बिचारलाई दर्ज गर्दै म स्वचालित नेतृत्व हु , पार्टी र तमाम कार्यकर्ताको आस्था र भरोसाको संरक्षक हु भन्ने दायित्व बोधका साथ देखाउनु भएको हिम्मतलाई हृदय देखि स्वागत गर्न चहान्छु !

यति बेला सत्तासीन सर्बसत्ताबादी अधिनायकवाद रबैयाले देश अक्रान्त भैरहेकोबेलामा पार्टी भित्रको बढदो अबैधानिक गतिविधिसँग चिन्तित निष्ठावान कांग्रेसहरुले यो दबाउन खोजिएको , कमजोर बनाइएको दमित आवाजलाई पुनः बिजारोपन गर्नुभएको कोषाध्यक्ष सीतादेबि यादबको यो हिम्मत,चट्टान रुपि अडानलाई बुलन्द गर्दै साझा मुद्दा बनाउन जरुरि छ । समय छदै चनाखो बनौ । भोलि पश्चाताप होइन इतिहास बोकेको युगान्तकारी परिवर्तनको अगुवाई पटकपटक गरेको कांग्रेसलाई कुनै पनि बहाना र चहानामा अबैधानिक र अधिनायकवादि मार्गमा जानबाट रोक्नु सबैको अहम कर्तव्य हो । कांग्रेसले बाटो बिराए देश कम्युनिष्ट अधिनायकवादको दुर्घटनामा पर्नेछ । लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक गतिबिधि देश दुर्घटनामा घचेटन सहायक बन्नुबाट रोकौ । जय नेपाल ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ