'दशक लामो हिंसाबाट भर्खरै मुक्त देशमा फेरि पनि हिंसाले प्रवेश पाउनु दु:खद'
प्रकाशित २०७५ फागुन १२ आइतबार
169
Shares
काठमाडौं । नेपाली कांग्रेसले दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेकोदेशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दु:खद भएको बताएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय ललितपुरमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकार यसप्रति गम्भीर बन्न र शान्ति सुरक्षा कायम गर्न ध्यानाकर्षण गराउँदै जोडदार माग गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णयहरु
१. नेपाली कांग्रेसको महासमितिको बैठकमा उपसभापति श्री विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा. शशांक कोइराला र श्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष श्रीमती सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत नेपाली कांग्रेसको आर्थिक नीति प्रस्ताव परिमार्जन सहित पारित गर्ने निर्णय गर्दछ ।
२. २०७५ पौष ६ गते केन्द्रीय कार्यसमितिले सर्वसम्मतिले पारित गरी महामन्त्री श्री पूर्णबहादुर खड्काद्वारा महासमितिको बैठकमा प्रस्तुत नेपाली कांग्रेसको विधान संशोधनको प्रस्ताव परिमार्जन सहित पारित गर्ने निर्णय गर्दछ ।
बम विष्फोटबाट भएको जनधनको घटना बारे :
३. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक हालै देशका केहि स्थानमा भएका बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै त्यसप्रति गहिरो दु:ख व्यक्त गर्दछ र यस्तो आततायी कामको घोर निन्दा गर्दछ । घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दछ । यो बैठक गुरुङको परिवारप्रति समवेदना प्रकट गर्दै तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार नि:शुल्क गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । एनसेलका कैयन टावरहरुमा पुर्याइएको क्षतिले केवल सो संस्थालाई मात्रै असर पुग्ने होइन राष्ट्रकै सम्पत्ति नष्ट हुने विषयप्रति गम्भीरता जरुरी छ । दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दु:खद छ । सरकार यसप्रति गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछ ।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने प्रयत्न बारे :
४. संसदमा हालै दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रालाई नै असर पर्ने र गर्ने गरी निर्मित प्रावधानहरुप्रति केन्द्रीय समितिको यो बैठक गम्भीर चासो, चिन्ता र आपत्ति प्रकट गर्दछ ।
सामाजिक सन्जालको प्रयोगमा रहेका कतिपय वेथीति नियन्त्रण गर्न राज्यले राख्नु पर्ने सर्तकताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमश: बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिन्न । अत: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सो विधेयकका अनुदार प्रावधानहरु सच्याउन नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।
५. फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठीत गर्ने केहि प्रावधान सच्याउन जारी रहेको नेपाली कांग्रेसको पूर्ववत: धारणा पुन: स्मरण गराउँदै यो बैठक सो संहितालाई संशोधन गरिनु पर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रकृया प्रारम्भ गर्न सरकारसँग जोडदार माग
गर्दछ ।
शोक प्रस्ताव :
पाँचथर फाल्गुनन्द गाउँपालिका प्रमुख ७८ वर्षीय अम्बर नेम्वाङ, कुरुम्वा गाउँपालिकाका नेपाली कांग्रेसका पूर्व सभापति ७८ वर्षीय मकर सिंह लावती, साविक आङ्सराङ गा.वि.स.का पूर्व सभापति ५५ वर्षीय देउकुमार आङ्दम्वे, नेपाल शिक्षक संघ पाँचथरका सदस्य अम्बर तुम्वापो र धनुषा सवैला नगरपालिका १२ का नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि ६५ वर्षीय ललित अधिकारी दनवारको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दु:ख व्यक्त गर्दछ । उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति बैठक समवेदना प्रकट गर्दछ ।
आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., बालकृष्ण खाँण, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शंकर भण्डारी र गगनकुमार थापाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक फागुन १४ गते विहान ११ बजे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।