हेप्पी बर्थडे प्रधानमन्त्री ओली ! अब साँच्चिकै नेपालीहरुका अभिभावक बन्ने हो कि !
प्रकाशित २०७५ फागुन ११ शनिबार
528
Shares
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार ६७ औँ जन्मोत्सव मनाइरहेका छन् ।
८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका ओली यतिबेला दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् भने दोस्रो पटक पार्टी अध्यक्ष बनेका छन् ।
विरलै भाग्यमानीमध्येका एक ओलीले पहिलो पटक ०७२ सालमा प्रधाानमन्त्रीको कुर्सी सम्हालेपछि निकै नै राष्ट्रभक्तिका कुरा गरे । सोही कारण तत्कालीन नेकपा एमालेलाई जनताले विश्वास गरे ।
०७४ सालमा फेरि बहुमतसहित सरकारमा गए । उनी भाग्यशाली दुई तिहाई समर्थनको सरकारमा छन् ।
नेकपा एमालेका अध्यक्ष रहेका बेलामा उनी फेरि नेकपा माओवादी केन्द्रसंग पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पनि अध्यक्ष भए ।
ओली जुन स्थानमा छन् त्यो स्थानमा अहिले कुनै नेता छैनन् । भाग्यमानी प्रधानमन्त्री ओलीलाई ‘हेप्पी बर्थडे ।’
ओलीलाई जन्मदिनको मिश्रित शुभकामना आइरहेको छ । उनलाई नेकपाभित्रकै नेताहरुले रचनात्मक र आलोचनात्मक दुवै खाले शुभकामना दिएका छन् ।
नेकपा एकता कार्यदल भंग भएपछि आक्रामक देखिएका विघटित कार्यदलका सदस्य योगेश भट्टराईले निकै सटिक शैलीमा ‘प्रिय कमरेड जन्मदिनको अनेकअनेक शुभकामना !
अंगालो र छातीमा अझ धेरै समेटियुन्, टाढा–टाढासम्म दृष्टि पुगोस्, नजिककालाई सोधियोस्, टाढाकालाई खोजियोस्, नयाँ पुस्ताले सधैं खोजिरहुन्,
आत्मबल र इच्छाशक्तिको प्रशंसा गर्दछु, थप उदारता र सामूहिकताको अपेक्षा गर्दछु !’ लेखेका छन् ।
अब साँच्चिकै नेपालीहरुका अभिभावक बन्ने हो कि !
जन्मदिनमा प्रायः सबैले राम्रो नै शुभकामना दिन्छन् । निःसन्देह प्रधानमन्त्री ओलीलाई मुरीमुरी शुभकामना । स्वस्थ्य रहेर धेरै भन्दा धेरै जनताको सेवा गर्ने अवसर मिलोस् ।
देशको प्रधानमन्त्री भइसकेपछि सीमित अभिभावक बन्नु कदापी राम्रो हैन । पार्टीको मात्र पनि हैन । सिंगो नेपाली परिवारकै अभिभावक बन्नुपर्छ ।
ओली यसमा चुकेको अनुभूति उनकै व्यवहारबाट हुन्छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ४९ दिनपछि ओलीले आफू पनि निर्मलाको अभिभावक भएको भन्न वाध्य भएका थिए ।
तर साउन १० गते हत्या भएकी निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउन अहिलेसम्म नसक्ने प्रधानमन्त्री ओली कस्तो अभिभावक ।
विपक्षीलाई सधै बैरी देख्दादेख्दै बाटोघाटोसमेत नबनाउने अनि पानीजहाज र मोनोरेलका सपना देखाउने प्रधानमन्त्री ओली कस्तो अभिभावक ।
आफू प्रतिपक्षमा रहँदा गाली गर्न खुवै खप्पिस रहने र अरुलाई पेलिरहने तर आफूलाई केही भन्न नहुने प्रधानमन्त्री ओली कस्तो अभिभावक ।
यावत् प्रश्नहरु छन् । ६७ वर्षको एक पाको उमेरले अब व्यक्तिगत र पार्टीगत स्वार्थबाट उठेर बोलीमा भनेजस्तै गर्न सके नेपालीकोमात्र हैन सिंगो देशकै भलो हुन्थ्यो कि !
६८ औं जन्मोत्सव मनाउने बेलामा धेरैभन्दा धेरै राम्रा शुभकामना सन्देशहरु पढ्न पाइयोस् ।