सहज रुपमा नेविसंघको महाधिवेशन गराउने ऋषिकेशको सूत्र
प्रकाशित २०७५ फागुन ६ सोमबार
975
Shares
काठमाडौं । नियमित रुपमा चुनाव हुन्थ्यो भने ६ महिना अघि नै हुनु पर्ने नेपाल विद्यार्थी संघको महाधिवेशन भईसक्नु पर्ने हो । तर, आन्तरिक खिचातानीको कारण ६ महिनापछि नैन सिंह महर नेतृत्वको नेविसंघ कार्यसमितिले चुनाव गराउन नसकि राजीनामा दिएपछि अहिले पार्टी नेविसंघको तदर्थ समितिको खोजीमा छ ।
पार्टीले नेतृत्वको खोजी गरिरहँदा विभिन्न नेताहरु आ–आफ्नो सम्भावनाको प्रमाणपत्र बोकेर आफ्नो दाबी प्रस्तुत गर्नमा नै व्यस्त छन् । त्यस्तै, नेतृत्वको चाहाना राख्ने मध्येका एक नेता ऋषिकेश शाहले भने नेविसंघको अघिल्लो नेतृत्वले समयमा चुनाव गर्न नसकेको र अहिले पनि विवाद मत्थर नहुनुको कारण यसरी बताउँछन् ।
निवर्तमान नेतृत्वले समयमा नेविसंघको चुनाव गराउन नसकी राजीनामा दिएपछि अहिले नेविसंघ भ्याकुम अवस्थामा रहेको छ । नेविसंघ यस्तो अवस्थामा नेतृत्व विहीन बनेको छ कि यही बेलामा स्ववियूको चुनाव मुखमा आएको छ । यही बेलामा अधिनायकवादी सरकारको विरुद्धमा लड्नु पर्ने छ भने यही बेलामा नेविसंघ आफैं भ्याकुम अवस्थामा बस्नु पर्दा नेविसंघका कार्यकर्ताहरुमा धेरै निराशा छाएको छ ।
१२ औं महाधिवेशनबाट पारित भएको ३२ वर्षे हदम्यादको कारण कसलाई तदर्थ समितिको नेतृत्व दिने रु ३२ वर्ष भन्दा माथिका नेतालाई दिने कि नदिने भन्नेबारे पार्टी नेतृत्व दोधारमा छ भने ३२ वर्ष कम उमेरका विद्यार्थीहरु सो विधानको व्यवस्थालाई टेकेर ३२ वर्ष माथिकालाई नेतृत्व दिनु विधान विपरित हुने दाबी गर्दै आएका छन् । तर, विधानले चुनाव उठ्नको लागि ३२ वर्षको प्रावधान राखेको हो । तदर्थ समितिको नेतृत्वको लागि उमेरहदको व्यवस्था उल्लेख गरिएको छैन । मात्रै तदर्थ समितिले ६ महिनाभित्र चुनाव गराउनुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
अहिले नेविसंघ भित्र चुनाव गराउन नसक्नुको मूल कारण भनेको विधान अनुसार नेतृत्व चल्न नचाहनु नै मूल समस्या हो । म त दाबीका साथ के भन्छु भने यदि नेतृत्वले विधानमा उल्लेख भएको व्यवस्था अनुसार क्षमतावान विद्यार्थीलाई जिम्मेवारी दिने हो भने नेविसंघ अहिलेको जस्तो दुई÷तीन कित्तामा उभिँदापनि उभिँदैन र अधिवेशनकै लागि यस्तो दुनियाँ नाटक पनि गर्नु पर्दैन ।
म नेविसंघलाई पहिलेको जस्तै शक्तिशाली र एउटा सिंगो नेविसंघ बनाउन चाहन्छु । नेविसंघलाई नेताले चलाउने संगठन होईन कि नीतिले चलाउने संगठनको रुपमा विकास गराउन चाहन्छु र साथमा अहिलेको अधिनायकबादी सरकार विरुद्ध एक भएर लड्न सक्ने नेविसंघ बनाउँन चाहन्छु । त्यसैले मैले यो तदर्थ समितिलाई आधुनिक नेविसंघको एकीकरणको मुहानको रुपमा तयार पार्नको लागि तदर्थ समितिको नेतृत्वमा जान चाहिरहेको छु ।
नेविसंघलाई एकीकृत रुपमा अघि बढाउनको लागि र नेविसंघलाई अन्य विद्यार्थी संगठनभन्दा फरक बनाउनको लागि मेरा शैक्षिक र राजनीतिक रुपमा भिन्न एजेण्डाहरु छन् । मेरो हरेक स्कूलमा कम्प्युटर शिक्षा पु¥याउनु पर्ने माग विस्तारै विस्तारै पूरा हुने चरणमा छ । मैले २०६४ सालमा नै प्रस्ताव गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनसक्ने प्रस्ताव पछि अखिलले केन्द्रीय समितिबाट पारित गरायो । अहिले उसको एजेण्डा बनेको त्यो एजेण्डा सुरुमा मैले नै प्रस्ताव गरेको एजेण्डा हो । यसको अर्थ के हो भने हामीले शैक्षिक र राजनीतिक रुपमा समेत नयाँ एजेण्डा लिएर अघि बढ्नु पर्ने हुन्छ ।
जस्तो कि मेरो नयाँ शैक्षिक एजेण्डाको रुपमा हरेक प्रदेशमा कृषि विश्वविद्यालयको अवधारणा रहेको छ । कृषिमा आधुनिकीकरण विना अबको विकास सम्भव छैन । त्यसको लागि आधुनिकीकरणको पाठ पनि त पढाउनु प¥यो नि । त्यसैले यस्तो विश्वविद्यालयको आवश्यकता छ । साथै हरेक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय बनाउने पनि मेरो एजेण्डा छ ।
त्यस्तै, हामी नेविसंघ भित्रको प्रतिभाहरुलाई सम्मान गर्दै अन्तर नेविसंघ सांस्कृतिक प्रतिस्पर्धा, खेलकुद, अन्य विभिन्न प्रतिभाहरु प्रस्फुटनको फोरम तयार पारिदिन सकियो भने हाम्रा भविष्यका कर्णदारहरुमा नयाँ सम्भावनाको ढोका खुल्न सक्छ । यस्ता प्रतिभाहरुलाई गणेशमान, विपी आदि सम्माननीय नेताहरुको जन्म जयन्ती या नेविसंघको स्थापना दिवसको दिन सम्मान गरेर पनि नेविसंघका कार्यकर्ताहरुलाई चलायमान बनाईराख्न सकिन्छ ।
अहिलेको अर्को समस्या गुटको पनि हो । गुट विश्वको सबै प्रजातान्त्रिक पार्टीमा हुन्छ । तर त्यसलाई समन्वय गरेर अघि बढ्नु पर्छ । नेतृत्व इमान्दार बन्नुपर्छ । नेतृत्वले सबै गुटका साथीहरुको क्षमतालाई सम्मान गर्न सक्यो भने गुटले काम गर्न नदिने भन्ने नै हुँदैन । बरु रचनात्मक काम गरेर अन्तरगुट नै प्रतिस्पर्धा गर्न सकियो भने यसले झनै आपसी भातृत्वको सिर्जना गर्दछ । यसरी हामीले केन्द्रमा मेलमिलाप गर्न सक्यौं भने यो सन्देश तलैसम्म फैलिन्छ । कम्युनिष्ट सरकारसँग लड्नको लागि हाम्रा तल्लो तहसम्मका नेताहरु आतुर छन् ।
समग्रमा भन्नु पर्दा हामी नेविसंघलाई एकताबद्ध गराउँदै अबको महाधिवेशन गराउँन सक्दछौं । तर, यसकोलागि सक्षम नेतृत्व आवश्यक पर्दछ । चुनावको बेला पक्ष र विपक्षमा हुनु स्वभाविक हो । यो हुनु पनि पर्छ । तर, निर्वाचित भएर आएका साथीहरुले समन्वयकारी भूमिका हुन सकेन भने अहिलेको जस्तै अवस्था सिर्जना हुनसक्छ । म अहिलेको गुट उपगुटमा लागेका सबै साथीहरुसँग व्यक्तिगत सम्बन्ध भएको व्यक्ति भएकोले पनि मलाई नेतृत्व दिईयो भने यसलाई सहज रुपमा मिलाएर लैजान सक्दछु भन्ने विश्वास दिलाउन चाहन्छु ।