पाल्पा । ट्रिपरको ठक्करबाट ५ बर्षे बालिकाको मृत्यु भएपछि स्थानीयले अबरुद्ध गरेको सडक खुलेको छ । पाल्पाको निस्दी ७ ज्यामिरेको लामेटारमा ट्रीपरले ठक्कर दिदा सेरागाउँकी ५ बर्षकी ममिता सारुको ज्यान गएको थियो ।
त्यस्तै सोही ठाउकी ७ बर्षे सुनिता बार्ह्हघरे घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको पाल्पाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेलले बताए। होङसी शिवम् सीमेन्ट उद्योगका लागि चुनढुङ्गा लिएर जाँदै गरेको रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट बिहान विद्यालय जाँदै गरेका बालिकाहरुलाई ठक्कर दिएको थियो। निस्दी गाउँपालिका–७,ज्यामिरेको लामेटारमा ठक्कर दिने टिप्परका चालक नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
स्थानीयले बालिकाको शव बाटोमै राखेर प्रदर्शन गरेपछी गाडीधनी,प्रहरी र आफन्तजन संगको छलफलपछी साझदेखी बाटो खुलेको छ । दिनभरको अबरुद्धका कारण उद्योग खानी जाने बाटो पूर्ण रुपमा बन्द भएको छ। गाडी धनी आएर सम्झौता गरेपछी मात्र बालिकाको शब उठाउने अडान लिएका कारण दाङबाट गाडिधनी घटनास्थलमा आएर मात्र सहमती गरेपछी बाटो खुलेको प्रहरीले जनाएको छ ।
यसअघि स्थानीयको अवरोधपछि बन्द रहेको होङसी सीमेन्ट उद्योगको खानी शनिबार बेलुका देखी मात्र सञ्चालनमा आएको थियो। स्थानीयको समस्या कम्पनीले नबुझेको भन्दै निस्दी गाउँपालिका–७, ज्यामिरेका स्थानीयले फागुन १ गतेदेखी टिप्पर सञ्चालनमा रोक लगाएका थिए। यही फागुन ४ गते शनिबार पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख सहित कम्पनीका प्रतिनिधि, स्थानीय बासी र सरोकारवालाको छलफलबाट स्थानीयको मागहरु पुरा गर्न कम्पनी तयार रहेको प्रतिवद्धतापछि कार्यदल बनाई सहमती गरेपछीअवरोध खुलेको थियो।
सो समयमा खानीबाट चुनढुङ्गा ओसार्ने काम बन्द हुँदा सीमेन्ट उद्योग समेत प्रभावित बन्न पुगेको थियो। यो अबस्थामा पुनः आइतवार घटना पछि दिनभर बाटो अबरुद्ध भएको हो ।