अपाङ्गता भएका ब्यक्तिको अनुभव : स्वावलम्बी बने आफ्नो इच्छा पुरा गर्न सकिन्छ
माधव चम्लागाई,
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
631
Shares
ललितपुर । पूर्ण र अति असक्त अपाङ्गता भएका ब्यक्तिहरुले स्वावलम्वन जीवन जिउँदा गरेको अनुभव साटासाट गरेका छन् । ललितपुरमा इन्डिपेन्डन लिभिङ सेन्टर ललितपुरले आयोजित सम्मेलनमा नेपाल र जापानबाट आएका अपाङ्गता भएका ब्यक्तिले आफ्नो आफ्नो अनुभव साटासाट गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङ्गता भएका ब्यक्तिहरु खुसी भएमा देश नै खुसी हुने बताइन । अपाङ्गता भएका ब्यक्ति पनि यसै समाजका सदस्य रहेकोले उनीहरुको अधिकारको लागि यो सरकारले काम गर्ने समेत बताइन् ।
अपाङ्गता भएका ब्यक्तिहरु निर्वाचन भएर संसदमा समेत पुग्ने अवस्थामा पुगेपनि संबिधानले राखेका कतिपय कुराहरु नियम, नियमावली तथा ऐन कानुनमा आँउदा भने संबिधानको भावना बिपरित काटिदै गइरहेको तर्फ औलाउदै सबै जना एक भएर सरकारले गरेका यस्ता गलत कार्यको बिरोध गर्नु पर्ने राष्ट्रिय सभामा सदस्य प्रकाश पन्तले बताए ।
साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अपाङ्गता भएका ब्यक्तिहरुले जीवन यापन गर्दा भोगेको कष्टकर जिन्दगीलाई अनुभव गरेर आगामी दिनमा महानगरले बनाउने भौतिक पुर्वाधारमा बिशेष ध्यान दिने बताए । उनले महानगरले अपाङ्गता भएका ब्यक्तिहरुको समस्याहरुलाई नजिकबाट हेरिरहेको तथा उनीहरुको समस्या अनुभव गरेकोले समेत ललितपुर महानगरले धेरैकामहरु अगाडि बढाइरहेको समेत जानकारी दिए ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले पूर्ण र अति असक्त अवस्थाका अपाङ्गता भएका ब्यक्तिहरुको जीवनयापनको लागि सरकारले उचित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जापानबाट आएका पूर्ण असक्त अपाङ्ग फुजीवरा कात्तसुयाले जापानमा एक दिन कसरी बिताउन्छन भनेर निमार्ण गरिएको भिडिया समेत देखाइयो । मस्कुलर डिस्टर्फीको कारण शरिरका कुनै अंग समेत नचल्ने र जतिखेर नै अक्सिजनको सायता लिनुपर्ने जापानीज कात्तसुयाले एक्लै स्वावलम्बन जीवन बिताउन थालेपछि बिभिन्न देशहरु घुम्ने रहर पुरा भएको बताएका थिए । उनले भने "आफ्नो आवाज बुलन्द गर्नुहोस् स्वावलम्बन बनेर आफ्नो इच्छा पुरा गर्नुहोस । म पहिला आमाबुबासगै बस्थे, उहाँहरुले मेरा सबै काम गरिदिनुहुन्थो, खुवाउने, सुताउने, उठाउने, डुलाउने, ट्वाइलेट लाने सबै काम गरिदिनुहुन्थो तर पनि म बाधिए जस्तो हुन्थे जव म सरकारले उपलब्ध गराएको स्वसेवकको साहयताले स्वावलम्बन जीवन बिताउन थाले मेरा इन्छा पुरा हुन थाले र म पनि स्वतन्त्र हुन थाले" उनले बताएको यो अनुभव सुनाउँदा तालीले हल गुन्जीएको थियो ।
उपत्यकामा रहेका पूर्ण र अति असक्त अपाङ्ता भएका ब्यक्तिहरुको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा इन्डिपेन्डन लिभिङ सेन्टर ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गताको अधिकारको लागि सबै पक्ष एक जुट भएर लाग्नु पर्ने बताए । सरकार हाम्रा कतिपय अधिकारहरुमा संकुचित बनाउदै लगिरहेको छ । यसको लागि हामी सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए । अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वावलम्बन बनाउन सकारले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिए ।