कृषि तथा वन विज्ञान विश्वद्यालयको बदमासी, कसैको दवावमा पुनः परीक्षा
पहिले मेरिट लिष्टमा नाम निस्केकाले भर्ना हुन पाउने सम्भावना कम
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
372
Shares
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीहरुमाथि खेलबाड गरेको खुलेको छ । कसैको दवावमा आएर एमएस्सीमा भर्ना हुने विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने गरी विश्वविद्यालयले पुनः परीक्षा लिन लागेको हो ।
गत पुस १६ गते पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान विषयको स्नातकोत्तर तथा विद्यावारिधि तहको भर्ना सम्बन्धी सचना निकालेकामा माघ ५ गते स्नातकोत्तर तहको प्रवेश परीक्षा भएको थियो ।
सोही दिन नै परीक्षाको नतिजा पनि आयो । तर अन्य संकायको नभई पशु विज्ञान विषयको मात्र पुनः परीक्षा लिनुपर्ने भनी सूचना जारी गरियो ।
माघ २२ गते बसेको पीजी विद्यार्थी भर्ना कमिटीको निर्णय भन्दै माघ ५ गतेको प्रवेश परीक्षा रद्द गरी फागुन ७ गते पुनः परीक्षा लिन लागिएको विश्वविद्यालयकी डीन प्राडा शारदा थपलियाले जारी गरेको सूचनामा उल्लेख छ ।
किन पुनः परीक्षा ?
विश्वविद्यालयले पशु विज्ञानको विषयमा प्रश्नपत्र चुहिएकाले पुनःपरीक्षा लिनुपरेको जनाएको छ । तर कसरी बाहिरियो भन्ने कतै खुलेको छैन ।
यदि प्रश्नपत्र बाहिरिएको हो भने छानबिन समिति बनाएर त्यसको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सकिने थियो । तर यहाँ त ढिला समिति बनाएर त्यसको निष्कर्षको समेत बेवास्ता गर्दै पुनः परीक्षा लिन थालिएको भन्दै परिक्षार्थीहरुले आपत्ति जनाएका छन् ।
विश्वविद्यालयकै गरिमामा आँच आउने गरी यसरी बिना प्रमाण पुनः परीक्षा गरिनुको पछाडि ठूलै गिरोहको हात रहेको हुन सक्ने आशंका बढेको छ ।
विश्वविद्यालयतले अहिले छानबिन समिति बनाएको छ । तर त्यो छानबिन समिति भने पुनः परीक्षाको मिति सार्वजनिक भइसकेपछि गरिएको हो । त्यो पनि विद्यार्थीहरुको दवावमा ।
यसले विश्वविद्यालयकै पदाधिकारीको मिलेमतोमा विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको स्पष्ट हुन्छ ।
नतिजा निस्किएपछि रद्द गरिँदा नै नियतमा प्रश्न
नतिजा निस्किएपछि परीक्षा रद्द गरिनुको मतलब कुनै समूहले नतिजा नकारात्मक आएपछि नै यतिठूलो काण्ड रचेको स्पष्ट हुन्छ ।
फेरि एकैपटक भएको परीक्षामा पशु विज्ञानको मात्र किन परीक्षा रद्द भयो ? यसले झनै ठूलो प्रश्न विश्वविद्यालयका पदाधिकारीमाथिको नियतमा उठेको छ ।
कति विद्यार्थीको भविष्यमाथि खेलबाड ?
फागुन ७ गतेका लागि तोकिएको पुनः परीक्षामा गत माघ ५ गते सहभागी परीक्षार्थीले मात्र सहभागीता जनाउन पाउने उल्लेख छ ।
माघमा भएको प्रवेश परीक्षामा झण्डै एक सय २० जनाले परीक्षा दिएका थिए । जसमा ९५ जना पास भएका थिए ।
तीमध्ये ३० जनाको मात्र मेरिट लिष्टमा नाम निस्कियो । मेरिटमा नाम निस्किएकाले मात्र पढ्न पाउँछन् ।
स्रोतका अनुसार कुनै विद्यार्थीको नाम ननिस्केपछि धाँधली भयो भन्दै पुनः परीक्षाको चाल चालिएको हो ।
मेरिट लिष्टमा नाम भएका विद्यार्थीहरु भर्ना गर्ने तयारीमा थिए । तर तिनीहरुको खुशी खोसिएको छ ।
नियतवश यसरी पुनः परीक्षा गराउन खोज्नुको मतलब हो मेरिट लिष्टमा अहिले भएका विद्यार्थीमध्ये कतिपयको भाग्यमाथि विश्वविद्यालयले खेल्दैछ ।
मेरिट लिष्टमा नाम निस्किएर पनि भर्ना हुन नपाएका केही पीडित विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि विश्वविद्यालयले खेलेको आरोप लगाएका छन् ।
धाँधली भएको कुनै पनि प्रमाण फेला परेको छैन । त्यसको छानबिन नभइ यसरी नाजायज तरिकाले पुनः परीक्षा गर्न पाइँदैन ।
यो घटनाले अहिलेसम्मको चितवनस्थित रामपुर क्याम्पसको छविमाथि पनि गम्भीर प्रश्न उब्जेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको प्राविधिक विश्वविद्यालयमा देखिएको यो नाजायज कदमले भोलिका दिनमा कस्तो असर पर्ला ?
कसैले प्रश्नपत्र लिक भयो भनेकै भरमा परीक्षा रद्द गरेर पुनः परीक्षा लिन खोजिएको हो भने पदाधिकारीहरुको नैतिक जिम्मेवारीमा पनि गम्भीर प्रश्न उब्जन सक्नेछ ।
होइन भने यो विषय अब छानबिन समितिमा मात्र सीमित रहेन । यो त सिंगो विश्वविद्यालयप्रति नै प्रश्नचिन्ह खडा हुने घटना हो । यसमा उच्चस्तरीय छानबिन समिति बनाएरै गल्ती गर्नेलाई कानुनी दायराभित्र ल्याउनु पर्ने देखिन्छ ।
डिन प्राडा शारदा थपलियाले जारी गरेका सूचनाहरु अध्ययन गर्दा पनि परीक्षा रद्द हुनुपर्ने कुनै कारण नै देखिँदैन । एउटा पीजी भर्ना कमिटिको निर्णयले परीक्षा रद्द गर्नु कहाँसम्मको न्याय हो ।
यसबाट स्पष्ट हुन्छ कि विद्यार्थीको भविश्यमाथि विश्वविद्यालयले कसरी खेल्दो रहेछ । यसबारेमा जानकारी लिन खोज्दा प्राडा थपलियाले भने अहिले बोल्न मिल्दैन भनेर फोन काटिन् ।