सरकारले भ्रष्टाचारीलाई जोगाउन समिति गठन गरेको हो – गोपालमान श्रेष्ठ
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
182
Shares
स्याङ्जा । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् ।
सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको उनले बताए । वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भने, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन ।”
निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उनले भने, “आफ्नैका कारण हार बेहोर्नुपर्यो ।”
कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताए ।
महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने रु २० करोड बढीको आर्थिक कारोवार भएको सङ्घका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिए ।
माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन हुँदै तीन दिन थप गरी बिहीबार समापन गरिएको हो ।