सरकारको एक वर्ष :आर्थिक समृद्धिको आधार तयार : प्रधानमन्त्री
रमेश लम्साल,सिवी अधिकारी,
प्रकाशित २०७५ फागुन २ बिहिबार
221
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको आधारसमेत तयार भएको बताए।
प्रधानमन्त्रीले भने, “नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु हुन्छ, समयको सीमा हुन्छ, मान्छेको ज्ञानको सीमा छ, सामथ्र्यको पनि सीमा हुन्छ तर मैले भन्दै आएको छु इमानको कुनै सीमा हुन्न निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।”
सरकारले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पहिलो वर्ष आधार खडा गरेको र आगामी वर्ष उपलब्धिका वर्ष हुने स्पष्ट पारे। पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत आफूहरुले व्यक्त गरेको प्रतिबद्धता पूरा गर्यौं है भन्ने अवस्थामा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “तपाईं हामीले देख्ने सपना अर्कै हुनेछ ।”
जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शक रहेको भन्दै उनले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको वर्तमान सरकारलाई खबरदारी गर्ने जनताको सार्वभौम हकलाई उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
आलोचनाका नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि प्रहार गर्ने जाग्न थालेका प्रसङ्ग उल्लेख गर्दै जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा, हतासा र कुण्ठा प्रवाहित गर्ने तथा समाजमा अस्थिरता सिर्जना गर्ने कुरा भने उचित नहुने प्रधानमन्त्रीको भनाइ थियो ।
उनले भने, “इतिहासले समृद्ध नेपाल निर्माणको अभिभारा प्रधानमन्त्रीका रुपमा मेरो र बहुमत प्राप्त दलका रुपमा नेकपाको काँधमा सुम्पिदिएको छ, तर हामीहरु त निमित्त मात्रै हौँ, यो अभियान हामी सबैको हो । यस यात्रामा हामी सबै सहयात्री हौँ, मुलुक सवल समृद्ध र समुन्त बन्दा हामी सबैको मुहारमा उज्यालो छाउँछ । हामी सबैको शिर उचो हुन्छ ।”
निर्वाचनको परिणामबाट राजनीतिक स्थायित्व प्राप्त भएको र त्यो संसद् तथा अन्य निर्वाचित निकायमार्फत अभिव्यक्त भएको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले सरकार आर्थिक स्थायित्वतिर अग्रसर भएको र त्यसमा रहेका चुनौती के के हुन् मात्र नभई कोको हुन् भन्ने पनि राम्रैसँग थाहा भएको बताए ।
“कतिलाई यही स्थायित्व अभिशाप बनेको हुनसक्छ, राजनीतिक स्थायित्वलाई तेजबोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्धत छन् तर समृद्ध नेपाल निर्माणको यस ऐतिहासिक यात्रामा हिँड्दै गरेका बेला इमान र निष्ठाको साहराले अवरोध भत्काउँदै आएका छौँ र तोड्दै जानेछौँ”, प्रधानमन्त्रीले भने ।
केही मानिसमा विचारधारात्मक आग्रह पूर्वाग्रह देखिएको, जनतालाई सबै हिसाबका सार्वभौम तुल्याउने र सबल बनाउने अभियानबाट ध्यान बराल्न लोकतन्त्र खुम्चिना थाल्यो, अधिनायकबाद आयो भन्ने अफवाह फैलाइएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरे ।
फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु, आश्चर्यलाग्दो दृष्टि दोष मात्रै हो भन्दै प्रधानमन्त्री भने, “लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त सुसङ्गत र परिस्कृत व्यवस्था हो, जिविका चलाउने व्यवसाय हैन, यो कसैले कृपा गरेर स्थापना गरिदिएको र हामीले सुविधासाथ भोगचलन गर्न चाहेको व्यवस्था हैन । हाम्रा सचेत सुविचारित र बलिदानीपूर्ण सङ्घर्षले स्थापना गरेको आदर्श हो ।”
वर्तमान सरकारको पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्षका रुपमा उल्लेख गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले गत वर्षलाई आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्षका रुपमा लिइएको स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, “आज गरिने काम भविष्यका लागि आधार हो, राजनीतिक स्थिरतालाई मैले समृद्धितर्फको यात्राका लागि एउटा आधार मानेको छु ।” मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेले नै खै घर बनाएको भनेर गरिएका प्रश्नलाई अहिले सामना गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । “जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खैत चोटा कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? अहिले हामीले यस्तै प्रश्नको सामना गरिरहेका छौ”, उनले भने। रासस