जनयुद्ध दिवसका कारण नेकपामा कित्ताकाट, प्रचण्ड झुट कि माधव ?
प्रकाशित २०७५ फागुन १ बुधबार
498
Shares
काठमाडौं । जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रमको विषयलाई लिएर नेकपा भित्र कित्ताकाट सुरु भएको छ । दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको अनुपस्थितीमा तत्कालीन नेकपा एमालेका केही नेताहरुलाई राखेर गरिएको जनयुद्ध दिवसको कार्यक्रम पार्टीको निर्णय बमोजिम भएको भनेर प्रचण्डले दाबी गरिरहँदा तत्कालीन एमालेका नेताहरुले भने यो स्वीकारेका छैनन् ।
वरिष्ठ नेता नेपालले प्रचण्डको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीमा एकल निर्णय हावी भएको गुनासो समेत गरेका छन् । जनकपुरधाम(८ वलवा टोलस्थित कविर अनाथ बालबात्सल्य आश्रमका अनाथ बालबालिकाको अवस्था बुझ्न गएका नेपालले भने ‘जनयुद्ध मनाउने निर्णय प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’
उनले यस्तो बताईरहँदा कार्यक्रममा अध्यक्ष प्रचण्डले भने यो पार्टीको संयुक्त निर्णय भएको बताएका छन् । अध्यक्ष दाहालले जनयुद्ध दिवस मनाउने निर्णय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर गरेको बताएका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित जनआन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुबैजनाको समझदारीमा यस्तो निर्णय भएको बताएका हुन् ।
पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डले यस्तो बतार्ईरहँदा अर्का अध्यक्ष ओली भने प्रधानमन्त्री रोजगार योजनाको उद्घाटनको लागि राष्ट्रिय सभागृहमा व्यस्त थिए । ओलीले जनयुद्ध दिवसको विषयमा कुनैपनि अभिव्यक्ति र टीकाटिप्पणी समेत दिएका छैनन् । तर, प्रचण्डले भने कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । उनले २१ औं शताब्दीमा जनताको मन जितेर तीनै तहको सरकारमा कम्युनिष्टहरुको वर्चस्व हुनु जस्तो विश्वलाई नै आश्चर्य चकित बनाउने काम अरु नभएको भन्दै जनयुद्ध दिवसले नेकपालाई एक ढिक्का बनाउन सहयोग पुर्याएको उनले दाबी गरे ।
उनले पछिल्लो चरणमा नेपालमा कम्युनिष्ट पार्टीहरुको एकता पनि दुनियाँमा नयाँ उदाहरण बनेर अघि आएको धारणा उनले व्यक्त गरेका छन् । उनले हिजो अस्तिसम्म ओली पनि यो कार्यक्रममा सहभागी हुने तयारी भएको भएपनि सरकार गठन भएको एक वर्ष पुगेको र त्यस सम्बन्धमा गर्नेपर्ने काममा लागेकोले ओली आउन नसकेको कुरा दहालले कार्यक्रममा प्रट्याए।
यसरी पार्टीका अध्यक्ष र वरिष्ठनेताको दुई भिन्न भिन्न अभिव्यक्तिले पार्टी भित्रको कित्ताकाट सुरु भएको कुरालाई पुष्टि गरेको छ । उनीहरुले दिएको यो एक अर्काको बाझिने अभिव्यक्तिमध्ये कसको अभिव्यक्ति झुटो हो ? भन्ने जिज्ञासा समेत सुरु भएको छ ।