नेविसंघमा ३२ वर्षे लागू गर्न विद्यार्थीहरुको नयाँ शैली, सानेपामा यस्तो गरे
प्रकाशित २०७५ फागुन १ बुधबार
329
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघमा ३२ वर्षे हदम्याद राख्नको लागि विद्यार्थीहरुले नयाँ शैली अपनाएका छन् । बुधबार केन्द्रीय कार्यालयमा भेला भएर नेविसंघका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय प्रवेश गर्ने सबै केन्द्रीय सदस्य एवं पदाधिकारीहरुलाई व्यक्तिगत रूपमा भेटेर आग्रह गर्ने शैली अपनाएका हुन् ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि कसलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईन्छ भन्नेमा अन्योलमा रहेको विद्यार्थीहरुले नेतृत्व ३२ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरुलाई नै दिनको लागि समेत पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । यसरी आग्रह गर्दा सबै नेताहरुले यस विषयमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया जनाएको नेविसंघका सुनिल शर्माले जानकारी दिए ।
उस्तै माग लिएर नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानु अघि चेतावनी दिएर पठाएका थिए । मंगलबार पार्टी केन्द्रीय कार्यालयको मूलद्वारमा नै सभापति सहितका नेताहरुलाई रोकेर विद्यार्थीहरुले विधान विपरित ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गर्नुअघि सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द निधि, विजय कुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्ण बहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्ब अध्यक्ष एवं केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत नेताहरुलाई कार्यालयको मूल ढोकामा नै विद्यार्थीहरुले रोकेका हुन् ।
उनीहरुले पार्टीले कुनै पनि हालतमा विधान उल्लंघन गरी ३२ वर्ष माथिका उमेर समूहहरु मध्येबाट नयाँ तदर्थ समिति गठन गरिए विद्यार्थीहरुको समूहले विधानमा रहि समानान्तर समिति गठन गर्ने चेतावनी दिएको नेबिसघंका नेता निरन्जन थापाले बताए।