देउवा सहितका पदाधिकारीलाई ढोकैमा रोकी विद्यार्थीले दिए चेतावनी
प्रकाशित २०७५ माघ २९ मंगलबार
470
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानु अघि चेतावनी दिएर पठाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयको मूल द्वारमा नै सभापति सहितका नेताहरुलाई रोकेर विद्यार्थीहरुले विधान विपरित ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गर्नुअघि सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द निधि, विजय कुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्ण बहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्ब अध्यक्ष एवं केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत नेताहरुलाई कार्यालयको मूल ढोकामा नै विद्यार्थीहरुले रोकेका हुन् ।
उनीहरुले पार्टीले कुनै पनि हालतमा विधान उल्लंघन गरी ३२ वर्ष माथिका उमेर समूहहरु मध्येबाट नयाँ तदर्थ समिति गठन गरिए विद्यार्थीहरुको समूहले विधानमा रहि समानान्तर समिति गठन गर्ने चेतावनी दिएको नेबिसघंका नेता निरन्जन थापाले बताए।
नेबिसघंका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, उमेश थापामगर, नवराज त्रिपाठी, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा लगायत बिद्यार्थीहरुले यस्तो चेतावनी दिएका हुन् । समयमा महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै नेविसंघको महाधिवेशनको लागि तदर्थ समिति मंगलबारको केन्द्रीय समिति बैठकले गर्ने तयारी गरेको छ ।