सरकार मनलाग्दी गर्छ, गति पनि छैन, विधि पनि छैन : वरिष्ठ नेता पौडेल
प्रकाशित २०७५ माघ २९ मंगलबार
422
Shares
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।”
सरकारप्रति कडारुपमा प्रस्तुत भएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गरे। उनले भने, “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए।
अर्को एक प्रसङ्गमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताए। महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए ।
नेता पौडेलले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताए । केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गरे।
नेता पौडेलले राजीनामा दिएको केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दो ढङ्गबाट कोही कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने बताए।