राष्ट्रपति प्रधानमन्त्रीतिर फर्केर भ्रष्टाचार निर्मूल पार्न आग्रह गर्ने अनि ओली भण्डारीतिर फर्केर प्रतिवद्धता जनाउने
प्रकाशित २०७५ माघ २९ मंगलबार
729
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ भनिन् ।
सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण र सुशासन अभिवृद्धि गर्न सकिने औँल्याउँदै राष्ट्रपतिले भनिन्, “नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने सुनिन गएको छ, यो चिन्ताको विषय हो ।”
भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको बताउँदै उनले गैरकानूनी तवरबाट आर्जित धन सम्पत्तिले क्षणिक लाभ भए पनि अन्तत्वगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रुपमा नकारात्मक असर पार्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्ने बताइन् ।
राष्ट्रपतिले भनिन्, “विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ ।”
उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएको सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरुप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने बताइन् ।
नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसबाट सिर्जित दायित्व निर्वाहका लागि आवश्यक कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गरी प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोगको खाँचो औंल्याइन् ।
उनले समयक्रमसँगै भ्रष्टाचारको स्वरुप र शैलीमा पनि परिवर्तन हुँदै गएको हुँदा नवीनतम् प्रविधिको प्रयोग गर्दै आयोगले आफ्ना गतिविधिलाई परिमार्जन गर्दै भ्रष्टाचार नियन्त्रणमा अझ सक्रिय र सबल भई अगाडि बढ्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले आयोगका कामकारवाहीबाट विनियोजित स्रोत साधनको सदुपयोग गर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
उनले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी अभियोजन गर्ने संवैधानिक जिम्मेवारी आयोगमा रहे पनि मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै सरोकारवाला पक्षको सहकार्य र सहयोगको खाँचो औंल्याइन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचरका परिणामबारे जानकारी नुहने व्यक्तिलाई सचेतनामूलक कार्यक्रममार्फत सुसूचित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने दायित्व भएका व्यक्तिबाट नियतवश हुने कार्यलाई दण्डात्मक कारवाहीबाट निरुत्साहित गर्न आयोग सफल हुने विश्वास व्यक्त गरिन् ।
उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचारजन्य कार्यले कुनै न कुनै रुपमा सार्वजनिक स्रोतको अपव्यय हुनाका साथै जनताको सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने र मुलुकको विकास र समृद्धिमा बाधा पुग्ने बताइन् ।
भ्रष्टाचारजन्य कार्यपछि हुने दण्डात्मक कारवाहीले मात्र अतुलनीय क्षतिको पूर्ति हुन नसक्नेतर्फ सचेत गराउँदै राष्ट्रपतिले भ्रष्टाचार भइसकेपछि कारबाही गर्नेभन्दा भ्रष्टाचार हुनै नदिने अवस्थाको सिर्जना गर्नुपर्ने बताइन् । उनले भनिन्, “सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने कुरा प्रति प्रतिबद्ध हुनु नै भ्रष्टाचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो ।”
राष्ट्रपतिले आयोगले आगामी दिनमा निष्ठापूर्वक, सक्रिय रही संवैधानिक भूमिका निर्वाह गर्ने अपेक्षासमेत व्यक्त गरिन् । उनले समाजका विभिन्न क्षेत्र, तह र तप्काबाट अपेक्षा गरिएका नागरिकका आशा, भरोसा र विश्वासलाई पूर्रा गर्न सफल हुने शुभकामना व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचार विरोधी महाअभियानमा आ–आफ्नो स्थानबाट साथ दिन र भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन आह्वान गरिन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगको वार्षिक प्रतिवेदनको लोकर्पणसमेत गरिन् ।
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ – प्रधानमन्त्री ओली
यता सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताए ।
उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।”
सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको बताउँँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार स्वयं भ्रष्टाचारको सत्रु भएको टिप्पणी गरे । भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज केही प्रदूषित भए पनि स्वच्छता कायम गर्दै अघि बढ्नुपर्ने बताए ।
भ्रष्टाचार नियन्त्रण हुन नसके लोकतन्त्र नै सङ्कटमा पर्नेतर्फ सरोकारवाला सबैलाई सचेत गराउँदै उनले जनताको प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । उनले भने, “आयोगको सफलता सरकार र सिङ्गो नेपालको विकास प्रक्रिया तथा लोकतन्त्रको सफलता हो ।”
अब नेपाल गरीब भइरहन नसक्ने दोहोर्याउँदै प्रधानमन्त्री ओलीले भने, “मरुभूमिका देश पनि धनी भइसके, जनसङ्ख्या बुढाबूढी भएको मुलुक पनि धनी नै छन्, हाम्रो ६० प्रतिशत जनसङ्ख्या क्रियाशील छ तर पनि गरीब छौँ, प्राकृतिकरुपमा निकै सम्पन्न भए पनि गरीब छौं किन ? यो विषय अब नेपाललाई स्वीकार्य छैन ।”
निश्चित समयसीमा तोकरै नेपाललाई विकासको चरणमा लैजाने बताउँदै प्रधानमन्त्री ओलीले पाँच वा दश वर्षभन्दा पछि नेपाल गरीब रहँदैन भने । उनले भने, “त्यसपछि नेपाल गरीब छ, नेपाल पछाडि छ, नेपाल कमजोर छ भन्ने स्वीकार्य हुँदैन, नेपाल आकारमा मझौला भए पनि हैसियतमा निकै अगाडि छ ।”
नेपाल विद्वान र तिनका सन्तान भएको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उर्बरतायुक्त, ऋषिमुनीदेखिका ज्ञानगुनले भरिपूर्ण सदाचारयुक्त देश भएको सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल ठाडो शिरका साथ उभिने बताए । उनले भने, “अब हामीले हात फैलाउने होइन, सहयोग गर्ने बिन्दुमा पुग्नुपर्छ । दान लिने होइन दान दिने ठाउँमा पुग्नुपर्छ । यसका लागि भ्रष्टाचार अन्त्य हुनु जरुरी छ ।”
प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त रहन र मुक्त राख्नका लागि सम्बन्धित निकायकालाई सहयोग गर्न तथा आयोगलाई भ्रष्टाचार नियन्त्रण र निवारणमा हातेमालो गर्न आह्वान गरे ।
सो अवसरमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नवीन सुधार र समन्वय तथा प्रक्रियागत सुधार शुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा आयोगको स्थापना दिवसका अवसर पारेर आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै आयोगको कामकारवाहीमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । रासस