हिन्दुराष्ट्रको फैसला जनमतसंग्रहबाट हुनुपर्ने पक्षमा कांग्रेसः डा सशाङ्क कोइराला
सुशान्त आचार्य
प्रकाशित २०७५ माघ २६ शनिबार
399
Shares
देवघाट। नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले जनमत संग्रह मार्फत हिन्दुराष्ट्रको बारेमा निर्णय गर्ने पक्षमा उभिने बताएका छन्।
महेश संन्यास आश्रम देवघाटद्वारा आयोजित देवघाटधाम विराट ज्ञानमहायज्ञको ज्ञानसभामा बोल्दै कोइरालाले हिन्दुराष्ट्रको निर्णय जनमतसंग्रहद्वारा हुनुपर्ने पक्षमा कांग्रेस उभिने बताए।
काठमाडौंबाट सभामा सहभागी हुन देवघाट आएका कोइरालाले देवघाटधाम विराट् ज्ञानमहायज्ञमा सबैलाई सहभागी हुन आह्वान गरे।
कार्यक्रममा हरिद्वारस्थित पतञ्जलि योगपीठका पीठाधीश आचार्य बालकृष्णले महेश संन्यास आश्रमसँग नेपालको विकासमा योगदान गर्न सक्ने सय जना दक्ष विद्वान जनशक्ति मागे। उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुऱ्याउन आग्रह गरे। उनले आयुर्वेदसम्बन्धि केही जानकारी उपस्थित व्यक्तिका सामु प्रस्तुत गरे ।
ज्ञानसभाका अध्यक्ष, युवासन्त एवं महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका एकमात्र महामण्डलेश्वर आत्मानन्द गिरी, कृष्णानन्द सरस्वती, प्राध्यापक शिवगोपाल रिसाल, पूर्वगृहसचिव शरद भट्टराई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।