नवलपरासी । तराई–मधेशमा निकै मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको कुस्ती (दङ्गल) खेल सरकारी बेवास्ताका कारण लोप हुने स्थितिमा पुगेकाले जिल्लाका युवा स्थानीयस्तरबाटै यसको संरक्षणमा जुटेका छन् । भारत र नेपालको तराई भेगमा आयोजना गरिने यो प्राचीन खेल पछिल्लो समय ओझेलमा परेको भन्दै पश्चिम नवलपरासीको ग्रामीण भेगका युवाले वर्षेनी प्रतियोगिता आयोजना गर्दै संरक्षणमा लागेका हुन् ।
यो मधेशको प्राचीन खेल हो, सांस्कृतिक, सामाजिक र शारीरिक पक्षबाट यो खेलको संरक्षण गर्न आवश्यक रहेको पूर्वकुस्ती खेलाडी एवं कुस्ती खेलका अगुवा रामवृक्ष यादव बताउँछन् । आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि औपचारिक प्रतियोगिता र यसको संरक्षणमा खेलकूद मन्त्रालयले ध्यान नदिनाका साथै नियमित कुस्ती खेल्दै आएका खेलाडीले समेत खेलमा सहभागिता जनाउन छाडेकाले यसको संरक्षणमा स्थानीय युवाले चासो दिएका हुन् ।
“प्रतियोगिता नियमितरूपमा चलाउन नसके पनि वर्षमा पटक–पटक भारत र नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुने गरेको छ”, उनी भन्छन्, “पश्चिम नवलपरासीका विभिन्न स्थानमा विभिन्न चाडपर्वसहित अन्य अवसरमा प्रतियोगिता हुने भएपछि यस क्षेत्रका पहलवान र रुचि भएका युवाले वर्षभरि खेलको तयारी गर्ने र प्रतियोगितामा गएर सहभागितासमेत जनाउने गरेका छन् ।”
दशैँ, तिहारजस्ता पर्वका अवसरमा पश्चिम नवलपपरासी र आसपासका क्षेत्रमा भारतीय तथा नेपाली पहलवानबीच प्रतिस्पर्धा हुने गर्दछ । प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुँदै आएको छ । सोही क्रममा रामग्राम नगरपालिकास्थित हकुइमा आगामी फागुन ७ देखि ८ गतेसम्म अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । यसअघि पुरुषका लागि मात्र प्रतियोगिता हुँदै आएकामा यस वर्ष महिलाले पनि सहभागिता जनाउँदैछन्।
प्रतियोगितामा नेपाल र भारत दुवैतर्फका पुरुष र महिला गरी करीब ३०० कुस्तीवादले भाग लिनेछन् । प्रतियोगितामा भारतको पञ्जाव, गोरखपुर, दिल्लीलगायत स्थानका पुरुष र महिला पहलवानको सहभागिता रहेको छ भने नेपालको काठमाडौँ पोखरालगायत स्थानबाट खेलाडी आउने भएका छन् । हकुइमा हुल लागेको सो प्रतियोगिता व्यवस्थापनका लागि एक समिति गठन गरिएको छ । सांस्कृतिक, सामाजिक र शारीरिक दृष्टिकोणबाट मधेशको प्राचीन खेल संरक्षण गर्न आवश्यक भएकाले प्रतियोगिता गर्न लागिएको व्यवस्थापक समितिका सचिव धुव्र चौधरी बताउँछन् ।
प्रतियोगिता सम्पन्न गर्न करीब रु पाँच लाख लाग्ने अनुमान गरिएकाले स्थानीय तह, सङ्घसंस्था, स्थानीय उद्योग व्यवसायीहरूसँग सहयोग मागिएको व्यस्थापन समितिले जनाएको छ । प्रतियोगिताका लागि रामग्राम नगरपालिका–१५ र १६ ले समेत आर्थिक सहयोग प्रदान गर्ने भएको वडा नं १५ का अध्यक्ष धनपति यादवको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ७५ हजार, दोस्रो हुनेले एक लाख तथा तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा सहभागी हुने सबै पहलवानका लागि स्थानीय स्तरबाटै जिन्सी पुरस्कारको पनि व्यवस्था गरिएको सचिव चौधरी बताउँछन्।
मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव
पश्चिम नवलपरासीको परासीमा रहेको जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा असर परेको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीको काम समयमै गर्न कठिन भएको कार्यालयका निमित्त प्रमुख ईश्वरचन्द्र अर्याल बताउँछन् ।
कार्यालयमा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समय–समयमा गुनासो गर्दै आएका उनको भनाइ छ । कार्यालयबाट जग्गाको नामसारी, दाखिल–खारेजी, संशोधन, कित्ताकाट, अंशबण्डा, रजिष्ट्रेशनलगायत काम हुने गर्दछ । हाल कार्यालयमा प्रमुख मालपोत अधिकृतसहित करीब १६ कर्मचारी लामो समयदेखि छैनन् । कार्यालयमा कूल ३२ कर्मचारीको दरबन्दी रहेकामा अहिले प्रमुख मालपोत अधिकृत रिक्त छ । यसैगरी चार अधिकृतको दरबन्दी रहेकामा एक, आठ सुब्बामध्ये चार र १० खरिदारमा सात जना छन् भने लेखा अधिकृतसमेत रिक्त छ ।
जनशक्ति अभामा काम पूर्ण व्यवस्थित हुन नसक्ने, काम बिग्रिने, पूर्णरूपमा प्रमाण हेर्न नसकिने, मिसिललगायत अन्य कागजपत्र हेर्नका लागि समेत निकै समस्या हुने गरेको कार्यालयको भनाइ छ । रासस