काठमाडौँ । बेला न कुबेला भेनेजुएलाको मुद्दा उठाएपछि केपी शर्मा ओली नेतृत्वको सरकार विवादमा फसेको छ । सबैभन्दा शक्तिशाली सरकार चाहिने भन्दा नचाहिने विषयमा मुछिएपछि दरार बढ्दै गएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएकाको सार्वभौमसत्तामाथि हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएपछि चुलिएको विवाद मत्थर हुने संकेत दिएको छैन ।
माघ ११ गते निकै सोचेसम्झेर वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको सल्लाहमा प्रचण्डले निकालेको विज्ञप्तिको ढाकछोप गर्दागर्दा सरकार र पार्टी नै धरापमा परेको छ ।
नेकपा सचिवालय बैठकले पनि प्रचण्डको विज्ञप्ति सही भएको निष्कर्षसहित सोही अनुसार बाहिर एउटै बोली बनाउने निर्णयसमेत भएको थियो । तर नेताहरु आफू नै ठूलो हुँ र मेरो नै विचार स्पष्ट छ भन्दै चर्काचर्कीमा हिँडेपछि भने दरार पैदा भएको छ ।
पार्टी नै दुई धारमा
प्रचण्डले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट त भएको छ नै पार्टीभित्र पनि दुई धार अझ गाढा बनेको छ । गत जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भए पनि दुई अध्यक्षले आपसमा एकको जश अर्कोले लिने परिपाटी नबनेकाले दरार अझ गाढा बनेको हो ।
यसअघि सरकार आलोचित हुँदा प्रचण्डले जश नलिएर सरकार गलत बाटोमा हिँडेको छ भन्न भ्याएका थिए भने अहिले प्रचण्डले बोलेको विषयलाई लिएर ओलीले सही हो भन्ने हिम्मत गर्न सकेनन् ।
ओलीले प्रचण्डको विज्ञप्तिलाई शब्द चिप्लिएको प्रतिक्रिया दिएका थिए । त्यसपछि दुई अध्यक्षबीचको सम्बन्ध थप चिसिएको छ ।
ओली शब्द चिप्लिएको भन्ने र प्रचण्डले होस हवासमै लेखेकाले शब्द स्पष्ट भएको बताएर दुई अध्यक्षबीचको टकराव बाहिर ल्याइदिए ।
माघ ११ पछि प्रचण्डले यो विषयमा बाहिर भाषण गरेका थिएनन् । बोल्न पनि चाहिरहेका थिएनन् । दवावमा उक्त विज्ञप्ति जारी गरेको भन्ने समाचार बाहिर आएपछि वाध्य भएर होसमै लेखेको र दोष कसैलाई नदिएको स्पष्ट पारेका थिए ।
तर बिहीबार भने प्रचण्ड कडा रुपमा नै उत्रिए । उनले संस्थागत रुपमै पार्टीले सार्वजनिक गरेको कुरालाई ब्यक्तिले सफाइ दिने आवश्यकता नभएको बताएर प्रचण्डले ओलीलाई पनि साइजमा ल्याउने काम गरेका छन् ।
पार्टीभित्रै असन्तुष्टि
पार्टीले निर्णय गरेपछि त्यसै अनुसार बाहिर ब्रिफिङ गर्ने नियम छ । तर सचिवालय बैठकको निर्णय लत्याउँदै प्रधानमन्त्री ओली र प्रचण्ड मात्र बोलिरहेका छैनन् अरु नेताहरुले पनि आफू सुहाउँदो वक्तब्य दिँदै आएका छन् ।
उनीहरुले आफूलाई मात्र केन्द्रमा राखिरहेको आरोप नेकपाभित्र लाग्दै आएको छ । नेकपाको एक खेमा प्रचण्ड र ओलीलाई मिलाउने अभियानमा लागेको छ भने अर्को खेमा यिनीहरुको दूरीलाई अब बढाउने काम गरिरहेको छ ।
दुवै आधा–आधा अध्यक्षले यो विषयमा संगै बसेर यसरी जाऔं भन्ने समझदारी भने गर्न सकेका छैनन् ।
नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरु बोलीमा संयम ल्याउन सक्नुहुन्न अनि असर हामीलाई पर्छ ।’ उनले अगाडि थपे, ‘जनताले के खोजेका छन् उहाँहरु कुन स्वार्थमा पुग्नुभएको छ ।’
बेला न कुवेलाको भेनेजुएला काण्डले कतै नेकपाको अन्तिम चरणमा रहेको एकता पनि अधृरै रहने त हैन ?