ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजे : उपसभापति निधी
निरंजन कुमार साह,
प्रकाशित २०७५ माघ २१ सोमबार
600
Shares
जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। उपसभापति निधीले भने ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको बताएका छन।
सोमवार देशव्यापी रुपमा नेपाली कांग्रेसको विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत धनुषाको जनकपुरमा भएको विशाल विरोध सभालाई सम्बोधन गर्दै उपसभापति नीधिले ओली सरकार लोकतन्त्र विरोधी, किसान विरोधी, मजदुर विरोधी, अधिनायकवादी, सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको तर्क राखे।
वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै नीधिले हालसम्म निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्यान नसक्नु यसको उदाहरण रहेको तर्क राखे। हाल देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको बताएका छन।
नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा जनकपुरको रेल्वे स्टेशन परिसरमा सभालाई सम्बोधन गर्दै निधीले अहिलेको कम्युनिष्ट सरकारले संसदमा मर्यादापालक लगाएर नियम कानुन मिचेर जर्बजस्ती कानुन पास गर्ने जस्तो अपराध गरिरहेकोले जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने तर्क राखे।
उपसभापति निधीले भने कम्युनिष्ट सरकारले जनकपुर चुरोट कारखानालाई पनि प्राईभेट पब्लिक साझेदारीको नाममा बेच्ने र कमिसन खाने योजनामा रहेकोले प्रदेश नम्बर २ का जनतालाई आन्दोलनका लागि तयार रहन आग्रह गरे का छन्।
प्रदेश नम्बर २ को जनता नक्कली मधेशवादी दलहरुको विरोधमा ओर्लन तयार रहनुपर्ने बताए। प्रदेश सरकारले पनि कथित मधेशवादको भ्रम सिर्जना गरि मधेश विरोधी कार्य गरिरहेको आरोप लगाए।
विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव, रामकृष्ण यादव, जिल्ला उपसभापति संतोष यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए। जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित पार्टी कार्यालयबाट निस्केको विशाल जुलुश मुरली चोक, राम चोक, शिव चोक, भानु चोक हुंदै रेलवे स्टेशनमा गएर कोणसभामा परिणत भएको थियो।